पोखरा, १० असार। पोखरा कलेज अफ म्यानेजमेन्टमा अध्ययनरत बीबीए आठौं सेमेस्टरका विद्यार्थीहरूले ‘मिडिया र जनसम्पर्क’ विषयअन्तर्गत शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास कार्यक्रम सम्पन्न गरेका छन्। पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा आयोजित कार्यक्रममा दुई सेक्सनका ६९ विद्यार्थीहरू ६ वटा समूहमा विभाजित भई आ-आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रमका दिवा सत्र संयोजक सरोज कुँवरका अनुसार विद्यार्थीहरूले मिडियासँगको समन्वय, प्रेस विज्ञप्ति लेखन तथा पत्रकार सम्मेलन सञ्चालन गर्ने सीपको व्यावहारिक अभ्यास गरेका हुन्। पत्रकार सम्मेलन सञ्चालनको अभ्यासबाट उनीहरूले पेशागत जीवनमा उपयोगी पर्ने महत्वपूर्ण सीप सिकेको भन्दै क्याम्पस प्रमुख लिना श्रेष्ठ नेगीले विद्यार्थीहरूको प्रयासप्रति प्रसंसा जनाइन्।

कक्षा शिक्षक सुवास मल्लले कार्यक्रममार्फत विद्यार्थीहरूले व्यवहारिक सञ्चार अभ्यासमार्फत जनसम्पर्क तथा सञ्चार कौशलमा सशक्तता हासिल गरेको बताए। कार्यक्रममा सहभागी पत्रकार शान्ति गुरुङ, शोभाकान्त सिग्देल र केशवशरण लामिछानेले विद्यार्थीहरूको प्रस्तुति मूल्यांकन गर्दै पत्रकार सम्मेलनको व्यावहारिक पक्षमा सुझाव दिएका थिए।

कार्यक्रममा सहभागी विद्यार्थी साजिदा खातुनले वास्तविक पत्रकारहरूसँगको अन्तरक्रियाले आफूहरूलाई अझ नजिकबाट सिक्ने अवसर प्राप्त भएको अनुभव साझा गरिन्। पोखरा कलेज अफ म्यानेजमेन्टले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बीबीए, बीबीए फाइनान्स र बीसीएसआईटी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

हाल कलेजमा दिवा तथा बिहान सत्रमा गरी ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। व्यवस्थापन शिक्षालाई व्यवहारिकता जोड्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई आगामी पेसागत यात्रामा थप सक्षम बनाउने विश्वास कलेज प्रशासनले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0