पोखरा, १० असार। पोखरा महानगरपालिका वडा नं. १५ मा महिला क्षमता विकास, सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। वडाको आयोजनामा पोखराको हरियोखर्कस्थित अस्पतालको सभाहलमा सम्पन्न सो कार्यक्रममा सहभागी आमा समूहका सदस्यहरूलाई स्वास्थ्य, सीप विकास र कानुनी सचेतनासम्बन्धी विषयमा जानकारी दिइएको थियो।
कार्यक्रमकी प्रमुख अतिथि तथा पोखरा उपमेयर मञ्जुदेवी गुरुङले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने खालका तालिम तथा कार्यक्रमहरू सामाजिक रूपान्तरणका लागि अपरिहार्य भएको बताइन्। उनले महिलाहरूले सिकेको सीपलाई आयआर्जनको माध्यम बनाउने हो भने आर्थिक आत्मनिर्भरता प्राप्त गर्न सकिने धारणा राखिन्। महिलाहरूलाई कानुनी जानकारी, स्वास्थ्य सचेतना र सीपलाई बजारमा कसरी लग्ने भन्ने कुरामा पहिल्यै सजग भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो।
कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष तोरण बानियाँले वडाले ल्याएका कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिताले थप प्रेरणा मिलेको बताए। उनले हरियोखर्क अस्पतालसँग समन्वय गरेर वडामा स्थायी रूपमा बसोबास गरिरहेका नागरिकलाई २० देखि २५ प्रतिशत सेवा छुट दिने व्यवस्था गरिएको जानकारी पनि दिए।
कार्यक्रममा वडा सदस्य मन्दिरा परियारले आमासमूहलाई पाँच समूहमा विभाजन गरी सीप विकास कार्यक्रम सञ्चालन गरिएको बताइन्। उनले प्रशिक्षार्थी महिलाहरूलाई प्रमाणपत्र वितरण गर्दै सिकेको सीप व्यवहारमा प्रयोग गर्न आग्रह गरिन्। कार्यक्रमका प्रशिक्षक तथा सहजकर्ता राजाराम पौडेल, सुष्मा पौडेल, खिमकुमारी गुरुङ र वसन्त थापालाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।
अस्पतालका ल्याप्रोस्कोपी इन्चार्ज याम जिसीले कुष्ठरोग सम्बन्धी भ्रम चिर्दै समयमै उपचार गरे रोग पूर्ण निको हुने स्पष्ट पारे। डा. सुरज श्रेष्ठले अस्पतालको इतिहास, सेवा र उपचार प्रणालीबारे जानकारी गराए।
तालिममा सहभागी महिलाहरुलाई वडा सदस्यहरू आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङले प्रमाणपत्र प्रदान गरेका थिए। सहभागीहरूले स्वास्थ्य सचेतना र सीप विकासले आफूहरूलाई आत्मनिर्भरताको बाटोतर्फ अघि बढ्न थप प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए।

































