पोखरा, १० असार। कास्की जिल्लाको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार आयोजित गाउँसभा बैठकमा उपाध्यक्ष लालसुब्बा गुरुङले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। यसअघि गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ र पूँजीगत खर्चतर्फ १५ करोड २० लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएको छ। संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदानबाट करिब ४० करोडभन्दा बढीको स्रोत सुनिश्चित भएको जनाइएको छ। गण्डकी प्रदेश सरकारबाट पनि करिब २ करोड रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
बजेटमा कृषि तथा पशुपालन क्षेत्रमा करिब ५ करोड रुपैयाँ छुट्याइएको छ। स्वास्थ्य क्षेत्रमा ३ करोड ५९ लाख, शिक्षा क्षेत्रमा १६ करोड ७२ लाख, पूर्वाधार विकासमा १० करोड ८९ लाख र सामाजिक क्षेत्रतर्फ २१ करोड २३ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। आन्तरिक स्रोतबाट १ करोड ६४ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बाँकी ३ करोड ८९ लाख रुपैयाँ समेत समावेश गरिएको छ भने अझै प्राप्त हुन नसकेको ५ करोड ५३ लाख रुपैयाँ उल्लेख गरिएको छ।
गाउँपालिकाले आगामी वर्षका लागि जलदेवी धार्मिक क्षेत्र संरक्षण, ग्रेटवाल ट्र्याक निर्माण, एक वडा–एक पोखरी, दूध उत्पादन आत्मनिर्भरता कार्यक्रम, घुम्ती कृषि कार्यक्रम, रूपाकोट अस्पताल सुदृढीकरण, सोलार वितरण लगायतका बहुआयामिक योजनाहरू अघि सारेको छ।
गएको आर्थिक वर्ष ५० करोड ४६ लाख रुपैयाँको बजेटमध्ये ८९.९६ प्रतिशत राजस्व संकलन गर्न सफल भएको गाउँपालिकाले औसत खर्च प्रगति ५६.९७ प्रतिशत मात्रै गर्न सकेको छ। उपाध्यक्ष गुरुङले चालु वर्षका सिकाइलाई आधार बनाउँदै आगामी वर्ष कार्यान्वयन र सेवा प्रवाहमा सुधार ल्याइने प्रतिवद्धता व्यक्त गरिन्।
प्रस्तावित बजेट गाउँसभाबाट अनुमोदनका लागि प्रस्तुत गरिएको छ। बजेटले रूपा गाउँपालिकाको समावेशी विकास र दिगो प्रगतिको आधार तय गर्ने विश्वास गरिएको छ।


































