पोखरा, १० असार। अवैध रूपमा नेपाल भित्र्याइएको करिब १ करोड ३० लाख रुपैयाँ बराबरको सुन तथा हिराका गरगहनासहित दुई जना पोखरामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पत्रकार सम्मेलन गरी घटनाको विस्तृत जानकारी दिएको हो।
गोप्य सूचनाका आधारमा शुक्रबार पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रोबसमा चेकजाँच गर्दा भारतको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ का ४७ वर्षीय राम बहादुर बि.क. पक्राउ परेका हुन्। उनीहरूबाट ९५७.९८ ग्राम सुन तथा हिराका विभिन्न गरगहना बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरगहनामा सुनको ढिक्का, सिक्री, दाना माला, हिरा जडित औंठी, झुम्का, मंगलसुत्र, लकेट, पोतेलगायतका सामग्री छन्। कास्की सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघको मूल्यांकन अनुसार ती गरगहनाको बजार मूल्य १ करोड ३० लाख ४१ हजार ८ रुपैयाँ बराबर रहेको छ।
प्रहरीका अनुसार पक्राउ परेका कुलदिप र राम बहादुर तीन वर्षदेखि फेसबुकमार्फत सम्पर्कमा रही अवैध सुन कारोबारमा संलग्न थिए। अमृतसरस्थित अमरजित साहुको पसलबाट सुन र हिरा जडित गरगहना ल्याई नेपालमा बिक्री गर्ने योजना अनुसार कुलदिप असार ४ गते पोखरा आएको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्याम बाबु ओलियाले यस्तो प्रकृतिको अवैध कारोबारमा संगठित गिरोह संलग्न हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले अवैध रूपमा सुन भित्र्याउने कार्यलाई रोक्न प्रहरी गम्भीर रूपमा क्रियाशील रहेको र यसप्रकारका अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन्।





























