पोखरा, १० असार। कास्की जिल्लाको मादी गाउँपालिकामा अविरल वर्षापछि आएको पहिरोले छ वटा घरमा क्षति पुर्‍याएको छ। आइतबार राति परेको भारी वर्षापछि मादी–१ खिलाङ र मादी–६ तप्राङ क्षेत्र पहिरोको चपेटामा परेका हुन्।

मादी–१ का वडाध्यक्ष देवीजंग गुरुङका अनुसार खिलाङमा घरमाथिबाट खसेको पहिरोले दुईवटा घरमा सामान्य क्षति पुर्‍याएको छ भने दुईवटा भैंसी पुरिएर मरेका छन्। घटनास्थलमा तत्काल मानवीय क्षति नभए पनि जनजीवनमा ठूलो असर परेको छ।

मादी–६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले भेडीखर्कमा तीनवटा र सयपत्री टोलमा चारवटा घरमा क्षति पुगेको जानकारी दिएका छन्। भेडीखर्कका वीरबहादुर रानाको दुई घर, सन्तबहादुर रानाको एक घर र सयपत्री टोलका सूर्यबहादुर मगरको घरमा पहिरोले क्षति पुर्‍याएको हो।

चारवटै घरमा बस्न मिल्ने अवस्था नरहेको वडाध्यक्ष क्षेत्रीले जनाए। “कुनै घरको जगै गएको छ, त कुनै पुरिएको छ,” उनले भने। घरधुरीहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएका छन्।

स्थानीय प्रशासन, वडाकार्यालय र सुरक्षाकर्मीको समन्वयमा पहिरो पन्छाउने तथा क्षतिको प्रारम्भिक विवरण संकलनको काम सोमबार बिहानैदेखि सुरु गरिएको छ।

वर्षा र भौगोलिक बनावटको कारण पहिरोको जोखिम उच्च रहेको मादी क्षेत्रमा यस्ता घटनाहरू पुनः दोहोरिन सक्ने भएकाले सतर्कता अपनाउन वडाकार्यालयले स्थानीयवासीलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0