पोखरा, ९ असार। आदिवासी जनजातिको भाषा, संस्कृति र मौलिक जीवनशैलीलाई चलचित्र माध्यमबाट संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डमा जारी ‘पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव २०८२’ शनिबार दोस्रो दिनमा प्रवेश गरेको छ।
शनिबारको विशेष आकर्षण ओम चरण अमात्य निर्देशित वृत्तचित्र ‘सिङकिङ सिभिलाईजेसन अफ काठमाडौँ भ्याली’ रह्यो। नेपाल भाषामा निर्माण गरिएको यस वृत्तचित्रले मञ्जुश्रीसँग सम्बन्धित किम्बदन्तीबाट सुरु भई काठमाडौं उपत्यकाको विकासक्रम, सांस्कृतिक र भौतिक संकट, र सभ्यता नासिँदै गएको अवस्थालाई सूक्ष्म रूपमा चित्रण गर्दै दर्शकको गम्भीर ध्यान खिचेको थियो।
यस दिन मगर समुदायको परम्परामा आधारित चलचित्र ‘ट्याङ्चलाक (उज्यालोतिर)’ पनि प्रदर्शनमा आयो, जसमा पुस्तान्तरणको प्रभाव कलात्मक शैलीमा देखाइएको थियो। यस्तै, जनक गुरुङ निर्देशित गुरुङ भाषाको चलचित्र ‘जिउनी’, लुज सिंह निर्देशित नेपाल भाषाको लघु चलचित्र ‘सकिपाया युना’, र कमल एक्चै मगर निर्देशित वृत्तचित्र ‘मगरको चिनारी’ समेत प्रदर्शन गरिए।
महोत्सवमा विभिन्न आदिवासी भाषामा बनेका चलचित्र हेर्न पाउनु आफैंमा उत्साहजनक अनुभव रहेको सहभागी दर्शकहरूले बताए। वर्षाको बाबजुद दर्शकको उल्लेख्य उपस्थिति रहनु महोत्सवप्रतिको चासोको प्रमाण थियो।
यो तीनदिने महोत्सवमा नेपालका १५ र विदेशका ४ गरी १९ वटा चलचित्र छनोट गरिएको आयोजक आदिवासी जनजाति चलचित्र महासंघले जनाएको छ। रक्षा मन्त्री मानवीर राईद्वारा उद्घाटन गरिएको महोत्सव आइतबारसम्म चल्नेछ। उद्घाटन समारोहमा मन्त्री राईले गणतन्त्रपछि आदिवासी समुदायको भाषा र संस्कृतिले सम्मान पाएको उल्लेख गर्दै अब तिनको प्रवर्द्धनमा राज्य गम्भीर हुनुपर्ने बताए।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले राष्ट्रिय चलचित्र नीति संशोधनको क्रममा आदिवासी जनजातिको पक्षमा थप व्यवस्थाहरू राख्न पहल भइरहेको जानकारी गराए। निर्देशक प्रतिमाया पुनले महोत्सवको मूल उद्देश्यलाई स्पष्ट पार्दै आदिवासी चलचित्रलाई नेपाली फिल्म उद्योगको मूलधारमा ल्याउन लागिपरेको बताइन्।
महोत्सवको समापन आइतबार साँझ विभिन्न विधामा उत्कृष्ट फिल्म, निर्देशक, कलाकार र प्राविधिकलाई अवार्ड वितरणसहित हुनेछ।







































