पोखरा, ४ असार। धरान उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा चुलिएको राजनीतिक र प्रशासनिक तनावले नगरको समग्र विकास गति अस्तव्यस्त बनाएको छ। मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर आइन्द्र विक्रम बेघाबीचको विवाद अहिले नगर कार्यपालिकाको सन्तुलनमै असर पार्ने अवस्थामा पुगेको छ। श्रमदान अभियान, स्रोत पारदर्शिता, र नगर सम्पत्तिको प्रयोगबारे उठेका प्रश्नहरूले यो विवाद झनै गहिरिएको हो।
मेयर साम्पाङले अघि सारेको श्रमदान अभियान प्रारम्भमा जनसहभागिता र वैकल्पिक विकास मोडेलको रूपमा प्रशंसित थियो। तर पछिल्लो समय उक्त अभियानमाथि स्रोत अस्पष्टता, पारदर्शिताको अभाव र विधिसम्मत निर्णय नहुँदाको आरोप उठ्न थालेको छ। यही विषयमा मेयरले उपमेयरलाई भुक्तानी प्रक्रिया अघि बढाउन आग्रह गर्दा उपमेयरले हस्ताक्षर गर्न अस्वीकार गरेपछि विवाद उत्कर्षमा पुगेको हो। उपमेयर बेघाले स्रोत स्पष्ट नभएको, नगर सम्पत्तिको प्रयोग अनियमित रूपमा भइरहेको, र कुनै निर्णयबिना काम गरिएकाले जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेका छन्।
सोमबार मेयर समर्थकहरूले उपमेयरको कार्यकक्ष घेराउ गरेपछि झडपको स्थिति आयो। स्काभेटर, डोजर र टिपरको चाबी फिर्ता माग्दै कार्यकक्षमै प्रवेश गरेका श्रमदाताहरूको आक्रोशपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएका थिए। बेघाले भने नगर सम्पत्तिको दुरुपयोग रोक्न चाबी नियन्त्रणमा राखेको दाबी गरेका छन्।
नगरको विकास योजनामा यस विवादले गम्भीर असर पारेको छ। आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट निर्माणको संवेदनशील समयमै नेतृत्वबीच संवादहीनता देखिनु धरानको योजनाहरू अलपत्र पार्ने संकेत हो। कार्यपालिका बैठकहरू प्रभावित भएका छन् भने नगरसभा पनि अनिर्णयको बन्दी बनेको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङले उपमेयरमाथि काममा अवरोध गरेको, चाबी खोसेको र नगर सम्पत्तिमा हस्तक्षेप गरेको आरोप लगाए।
यसरी मेयर–उपमेयरबीचको बढ्दो टकरावले अब धरानको जनविश्वास, विकासको गति र समन्वयात्मक कार्यशैली गम्भीर संकटमा परेको छ। जनश्रमदान लोकप्रिय भए पनि त्यसमा देखिएको अपारदर्शिता र शक्ति सन्तुलनको लडाइँले नगरको भावी यात्रालाई अन्योलतिर डोऱ्याउने संकेत देखिएको छ।































