पोखरा, १ असार। बहुप्रतिक्षित नेपाली चलचित्र ‘महाभोज’ अन्ततः निर्धारित मितिभन्दा १५ दिन ढिलो गरी दर्शकमाझ आएको छ। सहकारी ठगीजस्ता समसामयिक र संवेदनशील विषयमा केन्द्रित यो चलचित्र सुरुमा जेठ १५ गते रिलिज हुने तयारीमा थियो तर राजावादी आन्दोलनको असरका कारण ढिलो गरी प्रदर्शनमा आएको हो।

चलचित्रको कथा ‘नमुना बहुउद्देश्यीय बचत तथा ऋण सहकारी’ नामक संस्थामार्फत सञ्चालित सेवामूलक अभियानबाट सुरु हुन्छ। तर संस्थापक सूर्यप्रसाद (आर्यन सिग्देल) राजनीतिमा लागेपछि सहकारीको व्यवस्थापन चन्द्रकाजी (दयाहाङ राई) ले सम्हाल्छन्। तर सहकारी विस्तारै समस्याग्रस्त बन्दै जान्छ। सूर्यप्रसादले चुनावी खर्चका लागि सहकारीको रकम अपचलन गरेका रहस्य खुल्दै जान्छ। निर्दोष देखाइएका चन्द्रकाजी पनि अन्ततः त्यही अपचलनमा संलग्न देखिन्छन्। कथाको अर्को धारमा खगेन्द्र लामिछाने र अञ्जना बराइलीको परिवारको संघर्ष देखाइएको छ, जसले कथालाई थप बहुआयामिक बनाएको छ।

निर्देशक दिनेश राउतले सामाजिक विषयमा ध्यान दिए पनि लेखक विकास सुवेदीले पटकथामा पूर्ण न्याय गर्न सकेका छैनन्। पहिलो हाफ आकर्षक बनेको भए पनि दोस्रो भागमा कथा कमजोर देखिन्छ। सहकारी ठगीको समाधान हिंसामार्फत गरिएको देखाइएको छ, जसले कानूनी राज्यप्रति शंका उत्पन्न गराउँछ। विशेषगरी चलचित्रले विद्रोही गतिविधिलाई महिमामण्डन गर्नुले यथार्थभन्दा भावनात्मक दृष्टिकोणलाई प्राथमिकता दिएको देखिन्छ।

कलाकारहरूको अभिनय समग्रमा सशक्त देखिएको छ। अञ्जना बराइली पुनः दर्शकको ध्यान तान्न सफल भएकी छन् भने आर्यन सिग्देलको ‘नेगेटिभ’ भूमिकामा उपस्थिति प्रभावशाली छ। चलचित्रमा कुनै गीत समावेश गरिएको छैन, यद्यपि अन्त्यमा राखिएको डान्स नम्बर आवश्यक नभएको आलोचना पाउन सक्छ। शीर्षक ‘महाभोज’ किन राखिएको भन्ने स्पष्ट नहुँदा दर्शकहरू केही अन्योलमा पर्न सक्छन्।

समग्रमा हेर्दा ‘महाभोज’ एक गम्भीर सामाजिक मुद्दालाई उठाउने साहसिक प्रयास हो। तर कथानक, सन्देश र निष्कर्षमा अझ बढी गृहकार्य आवश्यक थियो भन्ने देखिन्छ। दर्शकलाई मनोरञ्जनको साथ सोच्न बाध्य पार्ने क्षमता भए पनि कानूनी र सामाजिक सन्दर्भमा स्पष्टता र सन्तुलनको कमी अनुभव हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0