पोखरा, २९ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलिदेखि भक्तजनलाई विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ। महायज्ञको पूर्णाहुतिपछि भष्म वितरण गर्ने परम्परा भए तापनि लामो समयको हवन कार्यपछि हवन कुण्ड तातो भएकाले विभूति वितरण भोलि र पर्सी गरी दुई दिनसम्म गरिनेछ। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार भक्तजनको सुविधालाई ध्यानमा राख्दै यो व्यवस्था गरिएको हो।

त्यस्तै हवन कुण्डमा प्रयोग गरिएका ईट्टा पनि प्रतीक स्वरूप घर लैजान सकिनेछ। इच्छुक भक्तजनले सय रुपैयाँ तिरेर ईट्टा प्राप्त गर्न सक्नेछन् भने कलश जल पनि वितरण भइरहेको जनाइएको छ।

महायज्ञ अन्तर्गत भएको राष्ट्रिय भजन प्रतियोगिताका विजेतालाई भोलि शुक्रबार विशेष समारोहबीच पुरस्कार प्रदान गरिने कार्यक्रम तय गरिएको छ। प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५ हेमजाले प्रथम स्थान प्राप्त गर्दा माछापुच्छ«े सेवा समाजले द्वितीय र बालन एवं कला संस्कृति संरक्षण प्रतिष्ठानले तृतीय स्थान हात पारेका छन्। साथै विभिन्न विधामा उत्कृष्ठ मानिएका समूहहरूलाई २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्कार वितरण गरिने छ।

विगत दिनहरूमा सम्पन्न सामूहिक व्रतबन्धमा ५२५ जनाले सहभागी भई विधिपूर्वक संस्कार सम्पन्न गरेका थिए। साथै तुलादान, चौरासी पूजा, नवग्रह शान्ति, कालसर्प योग, विवाह, अष्टमहादान, गुन्यो चोली, अति रुद्री लगायतका विभिन्न धार्मिक अनुष्ठानहरू पनि विधिपूर्वक सम्पन्न भएका छन्।

यसैबीच, कोटिहोममा विभिन्न श्रद्धालु तथा सामाजिक संघ–संस्थाबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ। विभिन्न जिल्लाबाट आएका भजन समूहहरूको प्रस्तुति निरन्तर चलिरहेको छ भने चर्चित कलाकार चक्र बम र सुमन थापा मगरको भजनले माहोल भक्तिमय बनाएको छ।

महायज्ञका वरिष्ठ उद्घोषक कोष भारद्वाजको जन्मदिन बिहीबार परेको अवसरमा संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले उनलाई माला अर्पण गरी शुभकामना व्यक्त गरेका थिए। भागवत मञ्जरी राधिका दासीको कथा वाचन कार्यक्रम जेठ ३१ गतेसम्म चल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0