पोखरा, २९ जेठ। पोखराको सदाशिव सिद्देश्वर हरिहर मन्दिर परिसरमा सञ्चालनमा रहेको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हालसम्म आठ हजार जल सहितका कलश भक्तजनलाई वितरण गरिएको छ। महायज्ञ प्रचार–प्रसार संयोजक लेखराज ढकालका अनुसार सोमबार सम्पन्न पूर्णाहुतिसँगै यज्ञस्थलमा रहेका कलशहरू भक्तजनलाई वितरण गरिएको हो।

अधिकांश भक्तजनले पूर्व बुकिङ गरेकाले समयमै कलश प्राप्त गरेका थिए भने कतिपयले हवन समापनपछि शुल्क तिरेर जल सहितका कलश प्राप्त गरेका थिए। एक कलशको मूल्य एक हजार तीन सय रुपैयाँ तोकिएको छ भने दुईवटा लिँदा दुई हजार पाँच सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ। यज्ञअन्तर्गत ११ हजार शोभा कलश यात्रा गरिएको थियो।

पूर्णाहुतिपछि भष्म, तिलक तथा प्रसाद वितरण हुने भनिए पनि लामो समयसम्म भएको होमका कारण हवन कुण्डको भष्म अत्यधिक तातो भएकोले वितरण सम्भव नभएको बताइएको छ। अब आगामी जेठ ३१ गते इट्टा, तिलक र प्रसाद वितरण गरिने संयोजक ढकालले जानकारी दिए। सो अवसरमा एक सय रुपैयाँ तिरेर हवन कुण्डका इट्टा पनि घर लैजान सकिने व्यवस्था गरिएको छ।

महायज्ञको प्रसाद वितरणको कार्यमा भागवत मञ्जरी राधिका दासी सक्रिय रहेको बताइएको छ। उनले जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन् र कथा कार्यक्रम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। कोटिहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भक्तजनलाई अमृतरूपी कथा श्रवण गर्न आग्रह गरेका छन्।

यज्ञको समापन कार्यक्रममा प्रमुख आचार्य लक्ष्मण भण्डारी, शंकर खराल, कालिदास बाबा (काली बाबा), र मुस्ताङ क्षेत्रका प्रमुख प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यज्ञ समापनसँगै आचार्य ब्राह्मण, सहयोगी संस्था तथा वाद्यवादन समूहलाई सम्मानसाथ बिदाइ गरिएको छ। कोटिहोममा भक्तजनले आर्थिक सहयोगका साथै जग्गा समेत दान गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0