पोखरा, २९ जेठ। भारतको गौरवशाली विगत बोकेको तर त्रासदीपूर्ण दुर्घटनाहरूको श्रृंखला भोगेको एयर इन्डियाको इतिहासमा बिहीबार अहमदाबादमा अर्को एक दुर्घटना थपिएको छ। लन्डनका लागि उडेको २४२ यात्रु बोकेको एयर इन्डियाको जहाज रनवे छाडेलगत्तै दुर्घटनाग्रस्त भएको हो। यो घटना एयर इन्डियाका लागि नौलो भने होइन, किनकि यसअघि पनि एयर इन्डियाले ६ वटा ठूला विमान दुर्घटना भोगिसकेको छ, जसले सयौंको ज्यान लिएको छ।

सन् १९३२ मा टाटा एयरलाइन्सको नाममा स्थापना भएको यो विमान कम्पनीले सन् १९४६ मा आफ्नो नाम परिवर्तन गरी एयर इन्डिया राखेको थियो। त्यसपछि सन् १९५३ मा यसलाई सरकारीकरण गरियो। सन् १९६० मा बोइङ-७०७ विमान खरिद गरी जेट युगमा प्रवेश गर्ने यो एशियाको पहिलो एयरलाइन्स पनि बन्यो। एयर इन्डियाले नेपालमा समेत नियमित उडान भर्दै आएको छ। लामो सरकारीकरणको अवधिपछि सन् २००७ मा एयर इन्डिया र इन्डियन एयरलाइन्स गाभिएका थिए। अन्ततः २०२२ मा यो पुनः आफ्नो पुरानो मालिक टाटा समूहको स्वामित्वमा फर्किएको छ।

एयर इन्डियाको दुर्घटना इतिहासमा सन् १९५० नोभेम्बर ३ मा फ्रान्सको मोन्ट ब्लान्कमा भएको एयर इन्डिया फ्लाइट २४५ दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका थिए। त्यसको १६ वर्षपछि, सन् १९६६ जनवरी २४ मा सोही स्थानमा एयर इन्डिया फ्लाइट १०१ दुर्घटना हुँदा ११७ जनाको मृत्यु भएको थियो। सन् १९७८ जनवरी १ मा मुम्बई नजिक भएको एयर इन्डिया फ्लाइट ८५५ मा २१३ जनाको ज्यान गएको थियो। एयर इन्डियाको इतिहासकै सबैभन्दा ठूलो दुर्घटना सन् १९८५ जुन २३ मा आयरल्यान्ड नजिकै आकाशमै विस्फोट भएको एयर इन्डिया फ्लाइट १८२ हो, जसमा ३२९ जनाको मृत्यु भएको थियो। यस्तै, सन् २०१० मे २२ मा कर्नाटकको मंगलोरमा एयर इन्डिया फ्लाइट ८१२ दुर्घटना हुँदा १५८ जनाले ज्यान गुमाएका थिए। सबैभन्दा पछिल्लो ठूलो दुर्घटना सन् २०२० अगस्ट ७ मा केरलको कोझिकोडमा भएको एयर इन्डिया फ्लाइट १३४४ हो, जसमा २१ जनाको मृत्यु भएको थियो।

यी त्रासदीपूर्ण घटनाहरूले एयर इन्डियाको उडान इतिहासमा गहिरो घाउ छोडेका छन्। यसपटकको अहमदाबाद घटनाले फेरि एकपटक विमान सुरक्षा र यससँग जोडिएका चुनौतीहरूमाथि प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0