पोखरा, २९ जेठ। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलभित्र नेतृत्वको विषयमा चर्को असन्तुष्टि देखिएको छ। दलका अध्यक्ष विद्धान गुरुङलाई पदमुक्त गर्न माग गर्दै असन्तुष्ट केन्द्रीय सदस्यहरूले पार्टीको अनुशासन समितिमा औपचारिक ज्ञापनपत्र बुझाएका छन्। मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत बुझाइएको पत्रमा गुरुङको नेतृत्व क्षमताप्रति गम्भीर प्रश्न उठाइएको छ।

पत्रमा गुरुङले आफ्नो व्यक्तिगत लोकप्रियताको लोभमा दलको भवन निर्माणसम्बन्धी बजेटलाई प्रचारमुखी बनाएको आरोप लगाइएको छ। गत शनिबार उनले सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई तीन करोड बजेट विनियोजन गरेको विषयमा सार्वजनिक धन्यवाद दिएका थिए। तर यही कदमले पार्टी नेतृत्वलाई अनावश्यक आलोचनाको घेरामा ल्याएको असन्तुष्ट पक्षको भनाइ छ।

पत्रमा लेखिएको छ, “एउटा व्यक्तिको प्रचारमुखी प्रवृत्तिका कारण सञ्चार माध्यमका हेडलाइन र सामाजिक सञ्जालमा नेताहरू गालीको शिकार भइरहेका छन्।” यसले संगठनको गरिमा मात्र नभई पार्टीप्रति आम युवाहरूमा वितृष्णा बढेको समेत उल्लेख गरिएको छ।

गुरुङको कार्यशैलीलाई अनुशासनहीन, संगठनविपरित र गैरजिम्मेवार ठहर गर्दै तीन वर्षसम्म महाधिवेशन गर्न नसकेको असफलता पनि औंल्याइएको छ। पत्रमा भनिएको छ, “उनले संगठनको विधि मिच्दै नेतृत्वको सामान्य योग्यता समेत प्रदर्शन गर्न सकेका छैनन्।”

गुरुङलाई पदमुक्त गर्न माग गर्दै पत्र लेख्नेमा तरुण दलका केन्द्रीय सदस्यहरू रोजन राई, मनिष सिंजापति, मनोजकुमार कटुवाल, चन्द्रसुन्दर खेवाङ, सतेन्द्रसिंह ठकुरी, सिंहविक्रम पाण्डे र रोहित लामा रहेका छन्। उनीहरूले गुरुङको नेतृत्वमा संगठन दिनानुदिन कमजोर भएको र युवाहरूमा विश्वास गुम्दै गएको जिकिर गरेका छन्।

यो घटनाले तरुण दलभित्र आन्तरिक विवाद सतहमा ल्याएको छ भने नेतृत्वको वैधानिकता र नैतिकता दुवैप्रति गम्भीर बहस सुरु गराएको छ। अब पार्टीले अनुशासन समितिमार्फत कसरी निष्कर्ष निकाल्छ भन्ने चासो व्यापक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0