पोखरा, २९ जेठ। अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ। काठमाडौंको कीर्तिपुरमा जारी २४औं महाधिवेशन अन्तर्गत आज साँझ ६ बजेसम्म १ हजार ४७ मत खसेको अनेरास्ववियुका निवर्तमान अध्यक्ष समिक बडालले जानकारी दिएका छन्। उनका अनुसार प्रतिघण्टा करिब डेढ सय मत खसिरहेकोले मतदान प्रक्रिया राति १० बजेसम्म लम्बिन सक्ने अनुमान गरिएको छ।

महाधिवेशनमा देशभरका १ हजार ५४१ प्रतिनिधिहरू सहभागी छन्। उनीहरूले नयाँ अध्यक्षसहितको नेतृत्व चयनका लागि मतदान गरिरहेका छन्। अध्यक्ष पदका लागि दुई उम्मेदवार प्रकाश पौडेल र सुजन कडरियाबीच प्रतिस्पर्धा चलिरहेको छ। दुबै उम्मेदवार आफ्ना प्यानलसहित मैदानमा उत्रिएका छन्।

सुजन कडरियाको प्यानल वर्तमान अध्यक्ष मण्डलको तर्फबाट प्रस्ताव गरिएको हो भने प्रकाश पौडेलले अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमत धारणा राख्ने समूहलाई समेट्दै छुट्टै प्यानल बनाएका छन्। मतदाताहरूको सहभागिता उत्साहजनक देखिएको छ र महाधिवेशनमा नेतृत्व परिवर्तनसहितको दिशा निर्धारण हुने अपेक्षा गरिएको छ।

परिणाम आएपछि अनेरास्ववियुको आगामी रणनीति र विद्यार्थी आन्दोलनको स्वरूपमा कस्तो प्रभाव पर्छ भन्ने कुराले विशेष चासो पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0