पोखरा, २९ जेठ। भिजिट भिसा प्रकरणलाई लिएर उठेको विवादका कारण आजको प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ। विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्ने निर्णय गरेका हुन्। सभामुख घिमिरेका अनुसार अब अर्को बैठक भोलि, अर्थात् शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री लेखकको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले संसद्मा निरन्तर अवरोध गर्दै आएका छन्। उनीहरूले सरकारको भूमिका अपारदर्शी भएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्। सत्तारुढ दलहरूले उक्त प्रकरणमा छानबिन गर्ने वा अध्ययन समिति गठन गर्ने प्रतिबद्धता जनाए पनि विपक्षी दल, विशेषतः रास्वपाले औपचारिक निर्णयका लागि थप समय माग गरेको छ।

संसद् पुनः सञ्चालनको विषयमा राजनीतिक संवाद जारी छ। यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने भोलिदेखि संसद् नियमित सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्। संसद्को नियमित कार्यसूची अवरुद्ध भइरहँदा नीति तथा कार्यक्रम र बजेट सत्र प्रभावित हुने सम्भावना बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0