पोखरा, २९ जेठ। प्रतिनिधिसभाको आजको बैठक पनि विपक्षी दलको अवरोधका कारण अघि बढ्न सकेन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै लगातार संसद् बैठक अवरुद्ध गर्दै आएको छ।
गृह मन्त्रालयको कार्यशैलीप्रति प्रश्न उठाउँदै रास्वपाले गृहमन्त्रीको नैतिक जिम्मेवारी माग गरेको हो। रास्वपाको निरन्तर दबाबपछि सत्तारुढ दलहरूले उक्त प्रकरणमा अध्ययन वा छानबिन गर्न लिखित प्रतिबद्धता जनाउने तयारी देखाएका छन्। यद्यपि, रास्वपाले उक्त प्रस्तावबारे निर्णय गर्न थप समय आवश्यक भएको भन्दै तत्काल संसद् सञ्चालनमा सहमति जनाएको छैन।
राजनीतिक संवाद जारी रहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलिदेखि संसद् नियमित रुपमा सञ्चालन हुने बताएका छन्। तर, हालसम्म पनि विपक्षी दलबीचको स्पष्ट सहमति बनेको छैन।
विपक्षी दलले संसद् अवरुद्ध गरिरहँदा सरकार र सत्ता गठबन्धनका सांसदहरू सभामुखमार्फत संसद् सञ्चालन गराउन प्रयासरत देखिएका छन्। यो प्रकरणले संसद्को नियमित कार्यसूची अवरुद्ध हुनुका साथै गम्भीर राजनीतिक गतिरोध खडा गरिरहेको छ।































