पोखरा, २९ जेठ। भारतको अहमदावादबाट बेलायतको लन्डनतर्फ उडेको एयर इन्डियाको ‘एआई १७१’ जहाज गुजरातको मेघानी नगर इलाकामा दुर्घटनाग्रस्त भएको छ। सरदार पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै विमान बस्ती क्षेत्रमा खस्दा जमिनमै पनि मानवीय क्षति पुगेको छ।

दुर्घटनाको सबैभन्दा हृदयविदारक पक्ष भनेको जहाज एक डाक्टरहरूको होस्टलमा खसेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परी होस्टलमा रहेका कम्तीमा १५ जना डाक्टर घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनास्थल वरपरका स्थानीय बासिन्दाका अनुसार २० देखि २५ जना स्थानीय नागरिक पनि विभिन्न रूपमा प्रभावित भएको प्रारम्भिक अनुमान छ।

जहाजमा २४२ जना सवार थिए, जसमा २३० यात्रु र १२ चालक दलका सदस्य थिए। तीमध्ये १६९ जना भारतीय नागरिक थिए भने बाँकीमा ५३ बेलायती, ७ पोर्चुगाली र १ जना क्यानाडाका नागरिक सवार रहेको पुष्टि भएको छ। यात्रुहरूको अवस्थाबारे आधिकारिक विवरण अझै आउन बाँकी छ भने उद्धार कार्य जारी रहेको बताइएको छ।

लामो दूरीको उडान भएकाले जहाजमा अत्यधिक इन्धन थियो, जसका कारण आगलागीको जोखिमसमेत उच्च थियो। मेघानी नगर बस्तीमा खसेको विमानले घरहरूमा क्षति पुर्‍याएको र उद्धार टोलीले सावधानीपूर्वक काम गरिरहेको देखिन्छ।

दुर्घटनापछि भारत सरकारले विमानस्थल, रक्षा र नागरिक उड्डयन निकायलाई पूर्ण सतर्कतामा राखेको छ। उक्त विमानका प्रविधि र सुरक्षा पक्षका विषयमा अनुसन्धान सुरु गरिएको छ।

एयर इन्डिया र बोइङ कम्पनी दुवैले घटनाको गम्भीर समीक्षा गर्ने प्रतिबद्धता जनाएका छन् भने यात्रुहरूको परिवारलाई सहयोग प्रदान गर्ने तयारी गरिँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0