पोखरा, २९ जेठ। नेसनल आइडियल बोर्डिङ स्कुल (निब्स) को आयोजनामा दोस्रो संस्करणको निब्स एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ। मण्डिखाटारस्थित स्कुलकै कोर्टमा सञ्चालन हुने प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा ब्वाइज तर्फ २४ र गल्र्स तर्फ १२ टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ।
निब्सका संस्थापक प्रिन्सिपल देवनारायण महतोका अनुसार प्रतियोगितामा सहभागी टिमहरू लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रेणु महतोका अनुसार दुवै समूहका विजेतालाई १० हजार र उपविजेतालाई ७ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता सञ्चालनका लागि करिब २ लाख रुपैयाँ खर्च हुने निब्सका ईसीए इन्चार्ज अमृत लामिछानेले जानकारी दिएका छन्। विद्यालयस्तरीय खेलकुद गतिविधिलाई प्रोत्साहन गर्दै विद्यार्थीको प्रतिभा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।






























