पोखरा, २९ जेठ। भारतको अहमदाबाद विमानस्थलमा बिहिबार दिउँसो एयर इन्डियाको बी७८७–ड्रिमलाइनर जहाज दुर्घटना हुँदा उद्धार कार्य अझै जारी रहेको छ। सन् २०१३ मा पहिलोपटक परीक्षण उडान भरेको र २०१४ मा एयर इन्डियालाई हस्तान्तरण गरिएको ‘भीटी–एएनबी’ दर्ता नम्बर भएको यो अमेरिकी बोइङ कम्पनीद्वारा निर्मित जहाज हो।

दुर्घटनाग्रस्त जहाजमा २३२ यात्रु र १० जना चालकदल सवार थिए। टेकअफ गरेको दुई मिनेट नबित्दै जहाज करिब ६२५ फिट उचाइमा पुग्नासाथ भवनमा ठोक्किएर दुर्घटनामा परेको हो। प्रतिमिनेट ४७५ फिटको गतिमा खसेको जहाजले पाँचतले आवासीय भवनमा ठोक्किँदा ठूलो क्षति पुगेको छ। उक्त भवन डाक्टरहरूको आवास भएको र १५ जना घाइते भएका खबरहरू सार्वजनिक भएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री रममोहन नायडूसँग टेलिफोनमा समन्वय गरेर तत्काल राहत र उद्धारका लागि सबै आवश्यक सहयोग गर्न निर्देशन दिएका छन्। नायडु स्वयं घटनास्थल जाँदै छन् र उद्धार कार्यको निरीक्षण गर्ने जनाइएको छ।

दुर्घटनापछि उडान सेवा अस्थायी रूपमा स्थगित गरिएको छ भने नागरिक उड्डयन मन्त्रालय तथा सुरक्षासम्बन्धी एजेन्सीहरू उच्च सतर्कतामा राखिएका छन्। उद्धारमा संलग्न टोलीले जीवित यात्रुहरूको खोजी जारी राखेका छन्।

यस्तो दुर्घटनाले भारतको उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक अनुसन्धानमा जहाजले उड्दासाथ असमान्य रूपमा तल उडिरहेको देखिएको र यसले प्रविधि वा मानवीय त्रुटिको आशंका गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0