पोखरा, २७ जेठ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उनका सचिवालयका सदस्यहरूको फ्रान्सको पेरिसमा आयोजित ७७औं कान्स फिल्म फेस्टिभल भ्रमणसम्बन्धी खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ। आयोगमा परेको उजुरीपछि प्रारम्भिक रूपमा गरिएको अनुसन्धानका क्रममा थप कैफियत देखिएकाले विस्तृत छानबिन सुरु गरिएको आयोग स्रोतले जनाएको छ।
महालेखा परीक्षकको प्रतिवेदन २०८२ अनुसार काठमाडौं महानगरले विभिन्न वैदेशिक भ्रमणका लागि ५२ लाख ५४ हजार रुपैयाँभन्दा बढी खर्च गरेको देखिएको छ। प्रतिवेदनमा अधिकांश भुक्तानीहरू नियमअनुसार नभएको स्पष्ट उल्लेख गरिएको छ। विशेषगरी कर्मचारीको विदेश भ्रमणका लागि स्थानीय तहको निर्देशिका, २०७५ अनुसार प्रक्रिया नअपनाई भ्रमण भएको पाइएपछि सो विषयमा प्रश्न उठेको हो।
आयोगका अनुसार भ्रमणसँग सम्बन्धित थप विवरण बुझ्नका लागि काठमाडौं महानगरका सल्लाहकार सुनिल लम्साल र कुमार ब्यन्जनकार (बेन) लाई बयानका लागि बोलाइएको छ। लम्साल ब्राजिलमा एक बैठकमा सहभागी हुँदा गरिएको हवाई खर्च भुक्तानीमाथि महालेखाले आपत्ति जनाएको थियो भने कुमार बेन मेयर शाहसँगै ३१ वैशाख २०८१ मा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका थिए।
मेयर शाहको सचिवालयले कान्सका मेयर डेभिड लिसनार्डको औपचारिक निम्तोमा उक्त भ्रमण भएको जनाएको भए पनि खर्चको औचित्यमाथि प्रश्न उठेपछि अख्तियारले कानुनी हैसियतका साथै खर्च सम्बन्धी स्पष्टता खोजिरहेको छ। आयोगका एक अधिकारीका अनुसार हालसम्मको छानबिनले मुद्दा चल्ने प्रकृतिको नदेखिए पनि बयानका आधारमा थप पाटाहरू खुल्ने सम्भावना रहेको छ। केही विषय रकम फिर्ता गर्ने प्रक्रियासँग जोडिन सक्ने भन्दै छानबिन अझै जारी रहेको उनले बताए।































