पोखरा, २७ जेठ। स्याङ्जाको वालिङ नगरपालिकामा विद्यार्थी संख्या न्यून हुँदै गएपछि पाँच सामुदायिक विद्यालय समायोजन गरिएको छ। वालिङ नगर शिक्षा समितिको निर्णयअनुसार चालू शैक्षिक सत्रको प्रारम्भसँगै वालिङ–२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ–१२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई नजिकका पायक पर्ने विद्यालयमा मर्ज गरिएको हो।
नगरपालिकाको शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयहरूको भौगोलिक अवस्था र विद्यार्थीको उपस्थिति लगायतका आधारमा समायोजन गरिएको हो। उनका अनुसार यी विद्यालयहरू कक्षा १ देखि ३ सम्म सञ्चालनमा थिए र अनुगमनका क्रममा शैक्षिक गतिविधि कमजोर देखिएको कारणले समायोजन गरिएको हो। विद्यार्थीलाई लामो दुरी पार गर्न नपरोस् भन्ने सोचसहित सहज विद्यालयमा पठाउने व्यवस्था मिलाइएको उनले बताए।
समायोजनपछि ती विद्यालयमा कार्यरत शिक्षकहरूलाई दरबन्दी कम भएका अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ। पछिल्ला वर्षहरूमा अभिभावक र विद्यार्थीहरूको झुकाव निजी विद्यालयतर्फ बढ्दै जानु, गाउँका जनसंख्या सहरतिर सर्नु तथा संस्थागत विद्यालयले गाउँमै विद्यार्थी पुर्याउनेजस्ता प्रवृत्तिले ग्रामीण सामुदायिक विद्यालयमा विद्यार्थी संख्यामा गिरावट आएको पाइएको छ।
हाजिरी पुस्तिकामा विद्यार्थी संख्या उल्लेख भए पनि नियमित रूपमा विद्यालय आउनेको संख्या न्यून हुन थालेपछि शिक्षा समितिले यस्तो निर्णय लिनु परेको हो। यस कदमलाई विद्यालय शिक्षा सुधारका दृष्टिकोणबाट आवश्यक उपायका रूपमा हेरिएको छ।

































