पोखरा, २७ जेठ। मानव सेवा फाउन्डेसन नेपालले पोखरामा आयोजना गरिरहेको कोटिहोम महायज्ञमार्फत धार्मिक श्रद्धा र समाजसेवाको अद्भुत समागम देखिएको छ। उक्त महायज्ञमा भक्तजनहरूको आर्थिक सहयोगसँगै जग्गा दान गर्ने लहर तीव्र रूपमा बढिरहेको छ।

फाउन्डेसनका महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार हालसम्म ३५ रोपनीभन्दा बढी जग्गा भक्तजनहरूले मानव सेवा फाउन्डेसनको नाममा दान गरिसकेका छन्। कोटिहोममा सहभागी भक्तजनले नगदको साथसाथै जग्गा दान गर्ने क्रम दिनानुदिन बढ्दै गएको छ।

पोखरा–३३ निवासी नीलकण्ठ पौडेलले ३ रोपनी २ दाम ३ पैसा जग्गा दान गरेका छन् भने अर्घाखाँचीका कुलराज पौडेलले ६ रोपनी, कृष्ण न्यौपानेले ४ रोपनी ५ आना ३ पैसा २ दाम र रामप्रसाद वेलवासेले २ रोपनी जग्गा प्रदान गरेका छन्। स्याङ्जाका शेरजंग अधिकारीले ३ रोपनी र नुवाकोटकी पार्वती भट्ट न्यौपानेले पशुपति तथा गण्डकी कोटिहोममा गरी ८ आना जग्गा दान गरेकी छन्।

त्यस्तै मोरङका छत्रमान श्रेष्ठले ३ कठ्ठा, सर्लाहीका राजकिसोर चौधरीले ५ धुर, सल्यानका विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन्। नुवाकोटका रामशरण न्यौपानेले ४ आना र पोखरा–५ की गङ्गा केसीको परिवारले भवन निर्माणका लागि २ रोपनी जग्गा दान गरेका छन्।

फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार पोखरावासी भक्तजन तथा विभिन्न धार्मिक संघसंस्थाबाट आश्रम स्थापना तथा समाजसेवाको उद्देश्यले थप जग्गा दान हुने क्रम जारी छ। पोखरामा जारी कोटिहोममा १ सय रोपनीभन्दा बढी जग्गा दान हुने अपेक्षा गरिएको छ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भक्तजनहरूको लाखौँ संख्यामा सहभागिता, आर्थिक सहयोग र जग्गा दानले महायज्ञ सफल र प्रभावशाली बनेको बताएका छन्। आजबाट यज्ञको पूर्णाहुति सहित तिलक तथा भष्म वितरण कार्यक्रम सुरु भएको छ भने कलश वुकिङ गरेका भक्तजनले आजदेखि घर लैजान पाउनेछन्।

जेठ १७ गतेदेखि सुरु भएको श्रीमद्भागवत कथा वाचन कार्यक्रम कथावाचिका भागवत मञ्जरी दासीको वाचनमा जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। कोटिहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0