पोखरा, २७ जेठ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रचण्ड कप आमन्त्रित राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ। नेसनल स्पोर्ट्स एकेडेमी र अखिल नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब (एनपिसी) ले सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबमाथि ३–० को सोझो सेटमा प्रभावशाली जित निकाल्दै विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा एनपिसीले पहिलो सेट २५–२२ ले जित्यो भने दोस्रो सेटमा प्रतिस्पर्धात्मक नतिजा निकाल्दै २७–२५ ले एपीएफलाई पछि पार्यो। तेस्रो सेटमा पनि एनपिसीले २५–१७ को सहज जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो।
दोस्रो खेलमा समूह ‘बी’ अन्तर्गत टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेस्ट भलिबल क्लब आमनेसामने भएका छन्। प्रतियोगितामा ६ टोली सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा एनपिसी, स्टेप रामपुर क्लब र नेपाल एपीएफ क्लब रहेका छन् भने समूह ‘बी’ मा टिपटप न्यु डायमण्ड, गण्डकी प्रदेश र एभरेस्ट भलिबल क्लब रहेका छन्।
प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल जेठ ३१ गते हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले नगद छ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ पाउनेछ। तेस्रो स्थान हासिल गर्ने टोलीले एक लाख रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई तीस हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूलाई बीस/बीस हजार रुपैयाँ प्रदान गरिने एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए।
कोइरालाका अनुसार एकेडेमीले भलिबलजस्तो लोकप्रिय राष्ट्रिय खेलको प्रवर्द्धन र प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो। उनले आगामी फागुनसम्ममा पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको उल्लेख गरे।




























