पोखरा, २७ जेठ। पोखराको रामघाटस्थित अमरसिंह माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक दिपक दाहालको निर्घात कुटाइका कारण कक्षा १० (ख) का विद्यार्थी अच्युत खड्का गम्भीर घाइते भएका छन्। आइतबार अन्तिम पिरियडको समय ट्युसन क्लास सम्बन्धी सामान्य संवादका क्रममा शिक्षक दाहालले खड्कालाई कुटपिट गरेका थिए।

विद्यार्थीका अनुसार सामान्य हाँसोको कारण खोज्दै दाहालले देब्रे कन्चट र कानको जोर्नीमा मुक्का प्रहार गरेपछि उनी जमिनमा ढलेका थिए। प्रत्यक्षदर्शी सहपाठीका अनुसार अनुहारमा चोट लागेकै कारण खड्कालाई सास फेर्न गाह्रो हुने अवस्था आएको थियो। घटनापछि अन्य विद्यार्थी आत्तिएर होहल्ला गर्न थालेका थिए भने कक्षाकोठामा रोदनसमेत भएको थियो।

दाहालले गर्दन समातेर खड्कालाई कक्षाको अगाडि तानेर थप पिट्न एक विद्यार्थीलाई पाइप ल्याउन आदेश दिएका थिए। ती विद्यार्थीले पिट्न नमिल्ने खालको लामो पाइप ल्याइदिएपछि थप हिंसा हुन सकेन। यही क्रममा अर्को शिक्षक कोठामा प्रवेश गरेपछि कुटाइ रोकिन पुगेको हो।

घाइते विद्यार्थीको अमरसिंहस्थित पार्कल्याण्ड हस्पिटलमा उपचार भइरहेको छ। कानमा गम्भीर चोट लागेका कारण उनको श्रवण क्षमतामा समस्या देखिएको अभिभावकले जानकारी दिएका छन्। यसअघि पनि सोही विद्यालयमा एक विद्यार्थीको हात भाँचिएको घटना सार्वजनिक भइसकेको थियो।

शिक्षक दाहालमाथि पहिलेका घटनाहरूमा विद्यालय प्रशासनले उचित कारबाही नगर्दा हिंसात्मक प्रवृत्ति दोहोरिएको अभिभावकहरूको आरोप छ। विद्यालय शिक्षाको मन्दिर हो भन्ने मान्यतामा आघात पुर्‍याउने यस्ता घटनाले शिक्षण पेशामाथि नै गम्भीर प्रश्न उठाएको छ। स्थानीय समाज, अभिभावक र विद्यार्थीहरूले दोषी शिक्षकमाथि कारबाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0