पोखरा, २७ जेठ। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा सोमबार साँझ करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार १५ वर्षीया निर्मला कुमालको पिपलको रुखमा घाँस काट्ने क्रममा विद्युतको मेन लाइनमा छोइएपछि घटनास्थलमै गम्भीर घाइते भएकी थिइन्।

साँझ करिब ६:३० बजे घर नजिकैको बारीमा रहेको पिपलको रुखमा चढेर घाँस काट्ने क्रममा उनी आकस्मिक रूपमा मेन लाइनमा छुन पुगेकी थिइन्। करेन्ट लागेपछि गम्भीर घाइते भएकी निर्मलालाई तत्कालै उपचारका लागि दमौलीस्थित जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, बेलचौतारा पुर्‍याइएको थियो।

तर चिकित्सकहरूको प्रयासका बाबजुद पनि उनको सोमबार साँझ ८:१० बजे उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको र करेन्ट लाग्ने अवस्थाको विस्तृत विवरण संकलन गर्ने कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए।

घटनाले विद्युत सुरक्षाको विषयमा अझ ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ भने स्थानिय तहले समेत भविष्यमा यस्ता दुर्घटनाबाट जोगिन आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0