पोखरा, २६ जेठ। नेपालको सीमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो र पीडित जनताको पीडालाई केन्द्रमा राख्दै तयार हुन लागेको नेपाली चलचित्र ‘परिवर्तन’को छायांकन शनिवारबाट औपचारिक रूपमा सुरु गरिएको छ। झापा चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा–अर्चनासहित चलचित्रको शुभ मुहूर्त गरिएको हो।
निर्देशक विजय केरुङको निर्देशनमा बन्न लागेको यस चलचित्रको छायांकन झापा, विराटनगर र इलामका विभिन्न स्थानमा गरिने भएको छ। निर्देशक केरुङका अनुसार चलचित्रको छायांकन कार्य करिब ४० दिनभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ। मुहूर्त अवसरमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले पहिलो सर्ट दिएका थिए।
‘परिवर्तन’ मा सुशील र अञ्जनासँगै वरिष्ठ अभिनेता सुनिल थापा, चर्चित अभिनेत्री करिश्मा मानन्धर, हास्य कलाकार बुद्धि तामाङ, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेल लगायतका कलाकारहरूको अभिनय रहनेछ। कलाकारहरूको विविधता तथा अनुभवले चलचित्रको प्रस्तुति थप सशक्त हुने अपेक्षा गरिएको छ।
दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका निर्माता दीपक सिवाकोटी हुन्। चलचित्रको कथा पनि स्वयं सिवाकोटीले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन्। चलचित्रमा शिव ढकालको छायांकन (डिओपी), भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कमल राईको नृत्य निर्देशन रहनेछ।
निर्देशक केरुङका अनुसार चलचित्र ‘परिवर्तन’ले मनोरञ्जनसँगै सामाजिक सन्देश दिने उद्देश्य राखेको छ। चलचित्रमार्फत राज्यको संवेदनशील पक्षप्रति दर्शकलाई गम्भीर चिन्तन गराउने प्रयास गरिएको उनले बताए। वास्तविकता, विवशता र परिवर्तनको आकांक्षालाई एकैसाथ समेटेर तयार पारिँदै गरेको यो चलचित्रले समसामयिक विषयवस्तुमा कलात्मक दृष्टिकोणबाट विमर्श गर्ने विश्वास गरिएको छ।
































