पोखरा, २६ जेठ। कर्णाली क्षेत्रको सामाजिक परिवेश र जीवनशैलीलाई समेटेर तयार पारिएको नेपाली चलचित्र ‘कल्ली’को फस्ट लुक्स पोस्टर आइतबार सार्वजनिक गरिएको छ। दुई फरक पोस्टरमार्फत चलचित्रको मूल सन्देश झल्काउने प्रयास गरिएको छ। चलचित्रको कथा, पात्र र परिवेशलाई प्रस्तुत गर्ने उद्देश्यले पोस्टरमा प्रमुख कलाकारहरूको भावमुद्रालाई प्राथमिकतामा राखिएको छ।

लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको ‘कल्ली’ आगामी १ फागुनमा देशव्यापी प्रदर्शनमा ल्याइने भएको छ। प्रस्तुतकर्ता किरण नेपालीका अनुसार माघसम्मका सबै मिति अन्य चलचित्रले अघिपछि बुक गरिसकेकाले फागुन १ लाई लक्ष्य गरिएकामा ढुक्क भएको बताए।

चलचित्रको निर्देशन लक्ष्मण सुनारले गरेका छन् भने कथासमेत उनकै रहेको छ। निर्देशक सुनारले यसअघि ‘बुलाकी’मार्फत कर्णालीको यथार्थ चित्रण गर्दै दर्शकको मन जितेका थिए। ‘कल्ली’मार्फत पनि उनले कर्णालीको सामाजिक समस्या, विडम्बना र आशालाई पर्दामा उतार्ने कोसिस गरेको बताएका छन्। सामाजिक यथार्थमा आधारित कथा भएकाले दर्शकसँग भावनात्मक रुपमा जोडिन सक्ने उनको विश्वास छ।

चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, नाजिर हुसेन, वर्षा राउत, सुलक्षण भारतीलगायत चर्चित कलाकारहरू छन्। साथै, नयाँ अनुहारहरूको पनि सशक्त उपस्थिति रहेको निर्देशकको भनाइ छ। चलचित्रमा आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत रहेको छ भने एनबी महर्जनको द्धन्द्ध निर्देशन, मिलन श्रेष्ठको सम्पादन, निसाल पौडेलको छायांकन र सुरज आचार्यको निर्माण संयोजन रहेको छ।

कर्णालीमा विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रले नेपाली समाजको एउटा उपेक्षित तर जीवन्त पाटोलाई उजागर गर्ने अपेक्षा गरिएको छ। विशुद्ध नेपाली परिवेशमा आधारित ‘कल्ली’ले मुलधारको दर्शकलाई पनि प्रभाव पार्न सक्ने विश्वास निर्माण टोलिको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0