पोखरा, २६ जेठ। नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय प्राविधिक पक्षलाई मजबुत बनाउन भारतको सहयोगमा निर्भरता तीव्र रूपमा बढिरहेको छ। यही सन्दर्भमा, गत चैत अन्तिमबाट प्रदर्शनमा आएको पूर्ण एक्सन जनराको चलचित्र ‘पिताम्बर’ले ५१ औँ दिनको सफल प्रदर्शन मनाएको छ। अझै पनि काठमाडौं उपत्यकाका केही हलहरूमा निरन्तर प्रदर्शनमा रहेको यस चलचित्रका निर्देशक कृषा चौलागाईले यस फिल्मको सफलताको श्रेय कलाकारको अभिनयसँगै प्राविधिक पक्षलाई पनि दिएकी छन्।

‘पिताम्बर’को ध्वनि संयोजन र पाश्र्व संगीत मिश्रण दक्षिण भारतमा गरिएको थियो, जसले दर्शकबीच गहिरो प्रभाव छोड्न सफल भएको निर्देशक चौलागाई बताउँछिन्। एम गीता गुरप्पा, काला चरण र उनीहरूको समूहले ध्वनि निर्माण, मिश्रण र मास्टरिङको सम्पूर्ण कार्य गरेका थिए। निर्देशकले प्राविधिक पक्षले फिल्मलाई बलियो बनाउने भएकाले भारतको स्टुडियो रोज्नुपरेको बताएकी छन्।

यसअघि रिलिज भएको एक्सन थ्रिलर चलचित्र ‘बाटो (रोड टु डेथ)’ को पनि साउन्ड स्कोर, डिजाईन, मिक्सिङ, रंग संयोजन तथा भिएफएक्स सबै कार्य दक्षिण भारतमै गरिएको थियो। यस्तै, ‘१२ गाउँ’, ‘ह्रस्व दीर्घ’ लगायतका चलचित्रहरू पनि प्राविधिक पक्षमा भारतीय दक्ष जनशक्तिको सहयोगमा तयार गरिएका छन्। निर्देशक विराज भट्ट र हरिहर अधिकारीले प्राविधिक गुणस्तरका लागि खर्चको ख्याल नगरी भारतमै पोस्ट प्रोडक्सनको काम गराइएको बताएका छन्।

वर्तमानमा निर्माणाधीन चलचित्र ‘बलिदान’ पनि छायांकनदेखि ध्वनि, भिएफएक्स, एक्सन डिजाइनसम्मका कार्यहरू भारतीय प्राविधिकमार्फत सम्पन्न भइरहेको निर्देशक सन्तोष सेनले जनाएका छन्। निर्देशक सेनका अनुसार नेपालभन्दा भारतमा दोब्बर खर्च लागे पनि परिणाम सशक्त हुने भएकाले उनीहरू भारतको स्टुडियो प्रयोग गर्न बाध्य छन्। यसअघि उनले निर्देशन गरेको ‘प्रेम गीत ३’ मा पनि भारतीय प्राविधिक प्रयोग गरिएकाले दर्शकबाट उत्कृष्ट ध्वनिको प्रशंसा पाएको उनी बताउँछन्।

यसरी, नेपाली चलचित्रको गुणस्तर सुधार्न भारतको प्राविधिक पहुँच प्रयोग गर्ने क्रम बढ्दै गएको छ। जसले नेपाली सिने उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन मद्दत पु¥याइरहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0