पोखरा, २६ जेठ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धबाट प्राप्त उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भैरहेको भन्दै त्यसविरुद्ध खरो रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्। वाइसिएल (YCL) नेपालका नवनिर्वाचित पदाधिकारीहरूसँगको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी शक्ति र प्रतिगमनकारी प्रवृत्तिहरूले देशमा फेरि विगततर्फ फर्काउने प्रयास गरिरहेको आरोप लगाए।
उनले जनयुद्ध, माओवादी आन्दोलन, जनमुक्ति सेना, वाइसिएल र युवाको भूमिकालाई अपमानित गर्ने कार्यहरू कुनै न कुनै रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै त्यो विरुद्ध सजग र सशक्त हुनुपर्ने बताए। अध्यक्ष दाहालले वाइसिएललाई पार्टीको ‘जनरल स्टाफ’ को रूपमा परिभाषित गर्दै संगठनलाई प्रतिगमनविरुद्धको अग्रपंक्तिमा देखिनुपर्ने स्पष्ट गरे। उनका अनुसार देशमा परिवर्तन विरोधी शक्तिहरू एकजुट भएर विगतका संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूलाई निष्क्रिय बनाउन खोजिरहेका छन्, जसलाई परास्त गर्न संगठनात्मक एकता, अनुशासन र स्पष्ट विचारले मात्र सम्भव छ।
प्रचण्डले नवनिर्वाचित वाइसिएल नेतृत्वप्रति विश्वास व्यक्त गर्दै पार्टी नेतृत्वको आदेशअनुसार चल्न निर्देशन दिए। उनले भने, “अब तपाईँहरूको टिम पार्टीको जनरल स्टाफ जस्तै हो। तपाईँहरूले नेतृत्वको निर्देशनमा प्रतिगमनको विरुद्ध दृढ र स्पष्ट ढंगले प्रस्तुत हुनुपर्छ।” उनले वाइसिएललाई पुनः जनसंघर्षको अग्रणी शक्ति बनाउनुपर्ने आवश्यकता औंल्याउँदै संघर्षशील अतीतको गौरवलाई जोगाएर अगाडि बढ्न आग्रह गरे।
उनले वाइसिएलको भूमिकाले मुलुकको समसामयिक राजनीतिक दिशा र सन्तुलनमा प्रभाव पार्न सक्ने बताउँदै वर्तमान परिस्थितिमा जनताको पक्षमा उभिने युवा शक्ति अझै मजबुत रूपमा संगठित हुनुपर्ने बताए।
































