पोखरा, २६ जेठ। पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति सम्पन्न भएको छ। महायज्ञको यो महत्वपूर्ण क्षणमा प्रसिद्ध धर्मगुरु कालिदास वावा (काली बाबा) ले पूर्णाहुति दिएका हुन्। लामो यात्रा तय गर्दै अमेरिका हुँदै दिल्ली र त्यसपछि काठमाण्डौँ आएका काली बाबाको उपस्थितिले यज्ञलाई अझ विशेष बनाएको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले बताए।
बालयोगेश्वरले काली बाबाको यस समर्पणप्रति आभार प्रकट गर्दै उनको उपस्थिति यज्ञलाई पवित्र र ऐतिहासिक बनाएको बताए। यज्ञको विधिवत् समापनसँगै होम, पाठ परायण, व्रतबन्ध, चौरासी पूजा लगायत सम्पूर्ण धार्मिक विधिहरू आजै समापन गरिएको प्रचार संयोजक लेखराज ढकालले जानकारी दिए। यज्ञमा सहभागी ४ सयभन्दा बढी ब्राह्मणलाई सम्मानपूर्वक बिदाइ गरिएको छ।
वैशाख १९ गते विधिपूर्वक अग्निमन्थन, समिधा दान र आहुति प्रदान गर्दै सुरु भएको कोटिहोममा प्रत्येक दिन तीन–तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्रमार्फत हवन गरेका थिए। १०८ भागवत महापुराण, वेद पाठ, सप्तचण्डी, अति रुद्री लगायतका धार्मिक कृत्य पनि सम्पन्न भएका छन्। यज्ञपश्चात महाप्रसाद ग्रहणसमेत गरिएको छ भने भोलिदेखि तिलक, भस्म वितरण र कलश प्रदान कार्यक्रम सञ्चालन हुने छ।
यसैबीच मानव सेवा फाउन्डेसनलाई पोखरा–५ निवासी गंगा केसीको परिवारले दुई रोपनी जग्गा दान गरेका छन्। फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार भवन निर्माणका लागि उक्त जग्गा प्रदान गरिएको हो। यदि त्यहाँ आश्रम निर्माण भए थप जग्गा पनि दिने प्रतिबद्धता गंगा केसीले व्यक्त गरेकी छन्।
कोटिहोममा हालसम्म ३० लाख भक्तजनले दर्शन गरिसकेको जनाइएको छ। नेपाल वैदिक महर्षि फाउन्डेसनका केन्द्रीय अध्यक्ष तथा पूर्व गृह राज्य मन्त्री दीपक प्रसाद वास्कोटा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा र मोटिभेटर विश्वराज गौतमले कोटिहोमले सामाजिक एकताको सन्देश दिएको बताएका छन्।
साथै, कोटिहोममा जेठ १७ गतेदेखि भागवत मञ्जरी दासीले श्रीमद्भागवत कथा वाचन गरिरहेकी छन्, जुन कार्यक्रम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।





























