पोखरा, २५ जेठ। धरानको कृषि उपज बजारमा दैनिक उपभोग हुने फलफूल र तरकारीमा अत्यधिक मात्रामा विषादीको प्रयोग बढेसँगै बजार व्यवस्थापन समितिले कडाइ थालेको छ। धरानस्थित कृषि उपज बजारमा स्थापना गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको पछिल्लो रिपोर्टले उपभोक्ताको भान्सामा पुग्ने प्रायः सबै तरकारी र फलफूलमा कुनै न कुनै मात्रामा हानिकारक विषादी भेटिएको देखिएको छ।

तीन साता अघि मकवानपुरको पालुङबाट ल्याइएको फुलकोपीमा ९७ प्रतिशतभन्दा बढी विषादी भेटिएपछि सबैखाले उपजको परीक्षण गर्न थालिएको हो। धनकुटाबाट ल्याइएको आल्चामा समेत कार्वामेट र अर्गानोफस्फेट समूहको विषादी पाइएपछि प्रयोगशालाले थप सतर्कता अपनाएको छ।

कृषि बजार व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार अब खुद्रा व्यापारीकहाँ उपज पठाउनु अघि विषादी परीक्षण अनिवार्य गरिएको छ। विषादी प्रयोग भएको प्रमाणित भएपछि २४ सय किलो फुलकोपी तत्काल नष्ट गरिएको र थप कडाइ गरिएको उनले बताए।

नेपालमा कुनै फलफूल वा तरकारीमा ३५ प्रतिशतसम्म विषादी भए खानयोग्य मानिने, ४५ प्रतिशतसम्म भए केही दिन क्वारेन्टाइनमा राखेर खान मिल्ने र त्यसभन्दा बढी विषादी भेटिएमा नष्ट गर्नुपर्ने प्रावधान छ। यद्यपि, विज्ञहरुका अनुसार कुनै पनि विषादी मानव स्वास्थ्यका लागि घातक नै हुन्छ।

धरान कृषि बजारमा दैनिक बिहान ५ बजेसम्म ल्याव रिपोर्ट तयार पार्ने व्यवस्था छ, तर फलफूल र तरकारीको संख्या धेरै हुँदा रिपोर्ट आउन ढिला हुन सक्ने भट्टराई बताउँछन्। हालसम्म ३ हजारभन्दा बढी नमुनाको परीक्षण भइसकेको छ भने अनधिकृत रुपमा विक्री वितरण गरे नियन्त्रणमा लिने गरिएको छ।

नेपालमा हाल ३ हजार २० प्रकारका विषादी प्रयोग भइरहेका छन्। तीमध्ये धेरैजसो किटनाशक विषादीले स्नायु प्रणालीदेखि कलेजो, मिर्गौला, फोक्सो र मस्तिष्कमा असर पुर्‍याउने गरेका छन्। विशेषगरी कार्वामेट, अर्गानोफस्फेट, सिन्थेटिक पाइरेथ्रोइड्स र फन्जिसाइट समूहका विषादी प्रयोग हुँदै आएका छन्।

सरकारले हालै २१ प्रकारका विषादीमा प्रतिबन्ध लगाए पनि ती अझै पनि बजारमा पाइने गरेका छन्। जीवनाशक विषादी ऐन २०७५ अनुसार विषादी प्रयोग गर्न अनुमति आवश्यक भए पनि कार्यान्वयन कमजोर छ।

विकासोन्मुख सहरहरुमा खेतीको विकल्प घट्दै गएका कारण उपभोक्ता विषादीयुक्त तरकारी खान बाध्य छन्। अग्र्यानिक उत्पादनको अभाव र उच्च मूल्यका कारण अधिकांश नागरिक स्वास्थ्यमा गम्भीर जोखिम मोल्दै दैनिक विषादी सेवन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0