पोखरा, २५ जेठ। गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि उत्पन्न भएको विवादले आइतबार पनि प्रतिनिधिसभाको बैठक प्रभावित बनायो। विपक्षी दलहरूको अवरोधका कारण आइतबार निर्धारित दुईपटकको बैठक बस्न सकेन भने साँझ साढे ६ बजे बसेको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो। सभामुख देवराज घिमिरेले बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन्।

संसद गतिरोध अन्त्यका लागि आइतबार दिनभर सत्ता पक्ष र विपक्षी दलहरूबीच आन्तरिक र द्विपक्षीय छलफलहरू चले। मुख्य विपक्षी नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), र एकीकृत समाजवादी पार्टीसँग संवाद गर्‍यो। सत्ता गठबन्धनले सहमतिमा नजिक पुगेको दाबी गरे पनि अन्तिम सहमति भने जुट्न सकेन।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन टुंगो लागेपछि अध्यागमन प्रणालीमा नीति र कानुनी सुधार गर्ने प्रस्ताव राखे। साथै, अध्यागमन सुधारका लागि अध्ययन समिति गठन र भ्रष्टाचार नियन्त्रणमा लिखित प्रतिबद्धता जनाउने सुझाव पनि दिएका थिए। यद्यपि माओवादी केन्द्र र रास्वपाले भने गृहमन्त्री लेखकलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने अडान कायमै राखेका छन्।

रास्वपाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा पद त्याग्नुपर्ने स्पष्ट धारणा राखेको छ। यसअघि गृहमन्त्रीका रूपमा रवि लामिछानेमाथि उठेको नैतिक प्रश्नमा आवाज उठाउने लेखक स्वयं विवादमा पर्दा पदमा रहनु अनुचित हुने उनीहरूको तर्क छ।

एमालेले भने कांग्रेस र विपक्षी दलबीचको निष्कर्ष स्वीकार गर्ने संकेत दिएको छ। एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दलहरू सहमति नजिक पुगेको भन्दै सोमबारको बैठक अघि निरन्तर छलफल हुने जनाएका छन्। तर माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने छलफल जारी रहेको भए पनि सहमति अझै नभएको बताए। उता रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले विषयको गम्भीरतालाई सत्ता पक्षले नबुझेको आरोप लगाउँदै छानबिन समिति गठन आफूहरूको न्यूनतम माग भएको बताए।

संसद सञ्चालनमा आएको गतिरोध अन्त्य गर्न सोमबार बिहानसम्म पनि सहमति प्रयास जारी रहनेछ। दलहरूले विश्वास व्यक्त गरे पनि गृहमन्त्री लेखकको राजीनामा नआएसम्म विपक्षीको अवरोध जारी रहने प्रष्ट संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0