पोखरा, २५ जेठ। पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ सोमबार पूर्णाहुति गर्दै समापन हुने भएको छ। एक सय एक कुण्डमा हवन गरिएको यस विराट धार्मिक अनुष्ठानमा चार सयभन्दा बढी ब्राह्मण सहभागी थिए, जसलाई समापन दिनमै विदाई गरिनेछ। साथै, व्रतवन्ध, चौरासी पूजासहितका विविध धार्मिक क्रियाकलापसमेत सोमबार सम्पन्न हुनेछन्।
महायज्ञमा भक्तजनको अपार सहभागिता देखिएको छ। प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार हालसम्म झण्डै ३० लाख भक्तजनले सहभागिता जनाइसकेका छन्। आइतबार मात्र झन्डै दुई लाख भक्तजन उपस्थित भएका थिए भने शनिबार आयोजित २१ करोड दीप प्रज्ज्वलन कार्यक्रममा करिब पाँच लाख श्रद्धालु सहभागी भएका थिए। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजका अनुसार हालसम्म करिब सात करोड ५० लाख रुपैयाँको सहयोग संकलन भइसकेको छ।
आइतबारको कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार आर्यन सिग्देल, अञ्जना बराइली, र निर्देशक दिवाकर भट्टराईजस्ता चर्चित व्यक्तित्वले समेत सहभागिता जनाएका थिए। यसले धार्मिक र सांस्कृतिक भावनालाई थप उचाइ दिएको आयोजकको विश्वास छ।
कोटीहोमको समयावधि जेठ ३१ सम्म लम्ब्याइएको छ। त्यस अवधिभर भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा वाचन गरिरहनेछिन्। धार्मिक उत्साहको अर्को प्रतीकस्वरूप पोखराका कृष्णराज अधिकारीले आठ मिनेट २५ सेकेण्ड लामो शंखघोष गरेका थिए भने तालबाराही मन्दिरमा एक हजार नरिवल अर्पण गरिएको थियो। उनले शंखघोषसहित हिन्दू राष्ट्र नेपालको उद्घोषसमेत गरेका थिए।
कोटीहोम अन्तर्गत हालसम्मकै सबैभन्दा ठूलो धनराशिको राष्ट्रिय भजन प्रतियोगिता र राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भइसकेका छन्। यस्तै, आज आयोजित विशेष सम्मान समारोहमा विश्वकर्मा समाजका व्यक्तिहरूलाई वालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजबाट सम्मान गरिएको छ। कार्यक्रममा बोल्दै महाराजले धर्मले कहिल्यै विभाजन नदिने भन्दै सबै वर्ग, जाति र समुदायको समान सहभागिता समाजको मजबुतीको आधार हुने बताएका थिए।
सामाजिक समरसता, धार्मिक सहिष्णुता र राष्ट्रप्रेम अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कोटीहोम धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले ऐतिहासिक बनेको आयोजक समितिको धारणा छ।





























