पोखरा, २५ जेठ। पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको दानप्रति गहिरो आस्था झल्किएको छ। मानव सेवा फाउन्डेसनद्वारा सञ्चालित आश्रम तथा सेवा कार्यका लागि लाखौँ रकमको सहयोग र जग्गा दान प्राप्त भएको छ।
पोखरा महानगरपालिका वडा नं. ३३ निवासी नीलकण्ठ पौडेलले महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजलाई ३ रोपनी २ दाम ३ पैसा जग्गा फाउन्डेसनको नाममा दान गरेका छन्। त्यस्तै, नुवाकोट वेलगाडी नगरपालिका वडा नं. २ का राम शरण न्यौपानेले ४ आना जग्गा फाउन्डेसनलाई प्रदान गरेका छन्। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार अन्नपूर्ण गाउँपालिका र स्याङ्जाबाट समेत फाउन्डेसनले हालसम्म करिब २२ रोपनी जग्गा प्राप्त गरिसकेको छ।
दान दिनेहरूको लर्को यथावत् रहँदा, आश्रमका वालवालिकाको अभिभावक बन्ने र आजीवन सदस्यताको संख्या उल्लेख्य देखिएको छ। भोजपुर आम्तेकका सान्ता मान राई र सस्मिता राईले ५ लाख १ हजार, पोखराका पूर्वमन्त्री हरि पाण्डे र तुलसा पाण्डेले २ लाख ५ हजार, पोखरा–१७ का रंगिला पौडेल आचार्य, भुवानी शंकर पौडेल परिवारले १ लाख १ हजार २ सय २५, र वीरबहादुर गुरुङले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, हरिमाया बरालले १ लाख ५३ हजार १ सय, स्याङ्जा पुतलीबजारका भोलानाथ रेग्मी र खुमबहादुर पौडेलले जनही ६० हजार, जेरनाथ ढकाल र कृष्णकुमारी ढकालले ५१ हजार १ सय ११, राप्रपाका केन्द्रीय उपाध्यक्ष ई. हेमजंग गुरुङले ५१ हजार सहयोग गरेर फाउन्डेसनका आजीवन सदस्य बनेका छन्।
लम्जुङ, तनहुँ, स्याङ्जा, बुटवल, पोखरा लगायतका स्थानका भक्तजनहरूले १० हजारदेखि ३० हजार रुपैयाँसम्म सहयोग गरेका छन्। लिटल गार्डेन स्कुल पोखरा–२७ र श्रीधारा म्याग्दी पोखरा समाजले समेत महत्वपूर्ण रकम सहयोग गरेका छन्। प्रचार संयोजक लेखराज ढकालका अनुसार महायज्ञमा भक्तजनको आत्मीयता र समर्पण उल्लेखनीय रहेको छ।





























