पोखरा, २५ जेठ। पोखरामा सञ्चालित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञअन्तर्गत आयोजित राष्ट्रिय भजन प्रतियोगितामा देविस्थान भजन समूह, पोखरा–२५ हेमजाले प्रथम स्थान हासिल गरेको छ। धार्मिक आस्था र सांस्कृतिक चेतनाको संगमका रूपमा सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न भजन समूहको सहभागिता रहेको थियो।

प्रतियोगितामा माछापुच्छ«े सेवा समाज पोखरा–२५ हेमजाले दोस्रो स्थान प्राप्त गरेको छ भने पोखरा–१७ स्थित बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान तृतीय भएका छन्। सान्त्वना स्थानमा सैन मैनाको राधाकृष्ण भजन समूह र भद्रकाली खैँजडी भजन समूह परेका छन्।

अन्य विधामा पनि भजन समूहहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। पाल्पा रामपुरको धर्मोदय दश अवतार भजन समूह उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार संघ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह उत्कृष्ट शब्द संयोजन र बागलुङको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान उत्कृष्ट नृत्यका रूपमा छनोट भएका छन्। त्यस्तै, स्याङ्जा पुतलीबजारको हरिहर भजन समूह उत्कृष्ट प्रस्तुति घोषित भएको छ।

नवलपरासीको भुमहीस्थित राष्ट्रिय लोक भजन चुट्का समूह उत्कृष्ट पुरुष स्वर, पाल्पाको सृजना भजन समूह उत्कृष्ट महिला स्वर, खाल्टेमसिनाको भगवती भजन समूह उत्कृष्ट अनुशासन, मकवानपुर मनहरीको ओम खहरे स्वर भजन समूह उत्कृष्ट भेषभूषा, र प्राणिनी समाज अन्तर्गतको श्री गोपाल सिद्ध लोक भजन समूह उत्कृष्ट वाद्ययन्त्र विधामा विजेता बनेका छन्।

काठमाडौँको ओमकारेश्वर भजन समूहले वैदिक सनातन प्रस्तुति, नवलपुर गैँडाकोटको सनातन वाल समूहले उत्कृष्ट वाल कलाकार, र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूहले उत्कृष्ट सन्देशमूलक प्रस्तुति पुरस्कार पाएका छन्।

विजेतालाई जेठ ३० गते पुरस्कार प्रदान गरिने आयोजक समितिका संयोजक प्रजापति पराजुलीले जानकारी दिए। प्रतियोगितामा प्रथम समूहले ३ लाख ५५ हजार ५ सय ५५, दोस्रोले २ लाख ५५ हजार ५ सय ५५, तेस्रोले १ लाख ५५ हजार ५ सय ५५, र सान्त्वना स्थान प्राप्त दुई समूहले जनही ६५ हजार पुरस्कार पाउनेछन्। अन्य विधाका विजेताले जनही २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्।

३ सय ५ समूहले नाम दर्ता गराएको प्रतियोगितामा २ सय ५६ समूहले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको मूल्याङ्कन पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे, नवराज बराल र विश्वमाया पौडेलले गरेका थिए। पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर र आसपासका स्थानीयको जग्गामा सञ्चालन भइरहेको कोटिहोम जेठ ३१ गतेसम्म जारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0