पोखरा, २५ जेठ। पोखराको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ शनिबार भक्तजनको अभूतपूर्व सहभागितासँगै ऐतिहासिक बनेको छ। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, देशभरका झन्डै पाँच लाख भक्तजनले शनिबार कोटिहोममा दर्शन गरेका छन्। यति ठूलो धार्मिक भीड अहिलेसम्म नेपालकै कुनै पनि धार्मिक कार्यक्रममा नदेखिएको आयोजकको दाबी छ।

निर्जला एकादशीको अवसरसँगै शनिबार २१ करोड दीप प्रज्वलन गरिने कार्यक्रम तय गरिएको थियो। बिहान १० बजे भक्तजनले आफ्नै घरबाट ल्याएको ज्योति कोटिहोममा भिजाएका थिए भने साँझ ६ बजे समवेत रूपमा दीप प्रज्वलन गरिएको मानव सेवा फाउन्डेशनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए। भक्तजनको हातमा ज्योति बोकेको दृश्यले कोटिहोमको वातावरण पूर्णतः आध्यात्मिक ऊर्जा र प्रकाशले उज्यालो बनाएको थियो। आयोजकका अनुसार यति ठूलो संख्यामा दीप प्रज्वलन यसअघि नेपालमा मात्र होइन, विश्वभर कतै भएको प्रमाण छैन।

कोटिहोमको कार्यक्रम स्थलमा देशका विभिन्न भागबाट आएका भक्तजनले स्थल खचाखच भरिएका थिए। भीड व्यवस्थापनमा आयोजक पक्षले ठूलो मेहनत गर्नु परेपनि कुशल व्यवस्थापनको प्रशंसा गरिएको छ। भीडका कारण पोखराको यातायात प्रणालीसमेत प्रभावित बनेको थियो। जिल्ला ट्राफिक कार्यालय कास्कीबाट खटिएका ट्राफिक प्रहरीलाई अवरुद्ध यातायात सहज बनाउन व्यापक प्रयास गर्नुपरेको थियो।

शनिबारको कार्यक्रममा प्रख्यात साधु-सन्तहरूको प्रवचन र नेपालका चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति पनि आयोजना गरिएको थियो। यसले भक्तजनको आस्था र आकर्षण झनै बढाएको थियो। महायज्ञमा दैनिकरूपमा आयोजना भइरहेका विविध धार्मिक गतिविधि र सांस्कृतिक कार्यक्रमले सम्पूर्ण वातावरणलाई भक्ति र श्रद्धाले भरिएको बनाएको छ।

कोटिहोमको प्रमुख कथा वाचिका भागवत मञ्जरी राधिका दासी शनिवार क्षेत्री समुदायको पारम्परिक पोशाक गुन्यु चोलीमा सजिएर कथा वाचनमा सहभागी भइन्। यसअघि गुरुङ समुदायको पोशाकमा कथा सुनाएकी दासीले नेपालका विभिन्न जातीय र सांस्कृतिक पोशाकमा प्रस्तुत भएर आस्थाको माध्यमबाट सामाजिक एकता सन्देश प्रवाह गर्दै आएकी छन्। उनले जेठ १७ गतेदेखि श्रीमद्भागवत कथा वाचन सुरु गरेकी हुन् र महायज्ञ जेठ ३१ सम्म निरन्तर सञ्चालन हुने प्रचार संयोजक ढकालले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0