पोखरा, २२ जेठ। प्रतिनिधि सभामा निर्वाचित भएका पाँच जना सांसदमध्ये चार जना हाल निलम्बनको अवस्थामा छन् भने एक जना फरार छन्। भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, सहकारी हिनामिना र शरणार्थी ठगीजस्ता मुद्दामा मुछिएका सांसदहरू निलम्बनमा परेका हुन्। पछिल्लो पटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी पनि निलम्बनमा परेका छन्।
नेपाल नेतृत्वको २०६६ सालको मन्त्रिपरिषद्ले पतञ्जलि योगपीठलाई काभ्रेमा हदबन्दी छुटमा ८१५ रोपनी जग्गा खरिदको अनुमति दिएको थियो। सोही जग्गा केही महिनामै बिक्री गरिएको पाइएपछि अख्तियारले सो निर्णयमाथि प्रश्न उठाउँदै भ्रष्टाचार मुद्दा अघि बढाएको हो। मुद्दा दर्ता भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको हो।
यसअघि नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत टेरामक्स प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि १ जेठ २०८१ देखि निलम्बनमा परेका थिए। सिन्धुपाल्चोक–२ बाट निर्वाचित बस्नेतमाथि ठेक्का प्रक्रिया र सार्वजनिक खर्चमा अनियमितता गरेको आरोप लागेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएपछि ८ पुस २०८१ देखि निलम्बनमा परेका छन्। चितवन–२ बाट निर्वाचित लामिछानेमाथि वैदेशिक आम्दानी विवरण नदेखाएको लगायतका आरोप छन्।
नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी भने नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा निलम्बनमा परेका छन्। उनीमाथि सरकारी योजनाको दुरुपयोग गरी नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउने प्रयासमा संलग्न भएको अभियोग छ।
यसैबीच राप्रपाकी सांसद गीता बस्नेत भने एक वर्षदेखि फरार छिन्। नवलपरासी, चितवन र बर्दियाका विभिन्न सहकारी संस्थाबाट करोडौं रकम अपचलन भएको आरोपमा १४ वैशाख २०८१ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनी हालसम्म सम्पर्कविहीन छिन्। अनुसन्धानका क्रममा छिपछिपे उपभोक्ता सहकारी, सनराइज सहकारी र नमस्ते सहकारीबाट निकासा लिएको रकम उनी सञ्चालक रहेको कृष्णसार रिसोर्टमा लगानी भएको खुलेको हो।
प्रतिनिधि सभाका २७५ सदस्यमध्ये पाँच जना सांसद आपराधिक आरोपमा मुछिएपछि राजनीतिक वृत्तमा नैतिकता र जिम्मेवारीबारे बहस पुनः चर्किएको छ। सांसदको निलम्बन र फरार अवस्थाले संसदको गरिमा र जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।




























