पोखरा, २१ जेठ। जापानकी राजकुमारी काकोले ब्राजिलको १४ दिने भ्रमण सुरु गरेकी छन्। क्राउन प्रिन्स अकिशिनो र क्राउन प्रिन्सेस किकोकी दोस्रो छोरी राजकुमारी काकोले यो भ्रमण जापान–ब्राजिल कूटनीतिक सम्बन्ध स्थापनाको १३० औं वार्षिकोत्सवको अवसरमा गरेकी हुन्। ब्राजिलमा विश्वकै सबैभन्दा ठूलो जापानी वंशजहरूको बसोबास रहेको तथ्यलाई दृष्टिगत गर्दै यो भ्रमणको ऐतिहासिक महत्व रहेको बताइएको छ।
ब्राजिलमा हाल २७ लाखभन्दा बढी जापानी मूलका मानिस बसोबास गर्छन्। उनीहरूका पूर्वजहरूको जीवन संघर्ष, विशेषतः दोस्रो विश्वयुद्धको समयमा भोगिएको दमन र पीडाका कथाहरूलाई उजागर गर्न ब्राजिलमा बसोबास गर्दै आएका जापानी मूलका प्राध्यापक अकिरा मियागीले लामो समयदेखि अनुसन्धान गर्दै आएका छन्। ओकिनावा प्रान्तका मियागीले १९९० को दशकमा ब्राजिल बसाई सरि त्यहाँको आप्रवासन इतिहासमा गहिरो चासो देखाउँदै आएका छन्।
१९०८ मा जापानबाट ब्राजिलमा पहिलोपटक कासातो–मारु नामक जहाजमार्फत आप्रवासीहरू साओ पाउलोको सान्तोस बन्दरगाहमा पुगेका थिए। त्यसयता जापानी आप्रवासनलाई राष्ट्रिय नीति स्वरूप अघि बढाइएको थियो। १९४१ सम्ममा ब्राजिलमा १ लाख ८९ हजार जापानी आप्रवासी पुगेका थिए। तर, दोस्रो विश्वयुद्धमा ब्राजिलले मित्र राष्ट्रको पक्ष लिँदा जापानी आप्रवासीहरूमाथि शंका र दमन बढेको थियो। सन् १९४३ मा सान्तोस शहरबाट करिब ६,५०० जापानी मूलका मानिसलाई डिपोर्ट गर्ने आदेश दिइएको र तिनीहरूलाई एकान्तवास शिविरमा राखिएको थियो।
त्यो कालको पीडा सम्झँदै मियागी भन्छन्, “हामीले विगतमा ढक्कन लगाउनु हुँदैन।” उनका अनुसार बृद्ध, साना बालबालिका र गर्भवती महिलासमेत जमिनमै सुत्न बाध्य बनाइन्थ्यो र दैनिक एकपटक मात्र खाना दिइन्थ्यो।
यस ऐतिहासिक घटनाको सन्दर्भमा गत वर्ष ब्राजिल सरकारले औपचारिक रूपमा जापानी आप्रवासीहरूप्रति गरिएको व्यवहारका लागि क्षमा याचनासमेत गरेको थियो।
राजकुमारी काकोले भ्रमण अघि जापानी आप्रवासनसम्बन्धी संग्रहालयहरू — योकोहामा स्थित जापानी ओभरसिज माईग्रेसन म्युजियम र कोबेमा रहेको ओभरसिज माईग्रेसन एन्ड कल्चरल इन्टरएक्शन सेन्टर — अवलोकन गरेकी थिइन्। त्यहाँ उनले इतिहासकार हिरोचिका नाकामाकीसँग परामर्श लिँदै भ्रमणको तयारी गरेकी थिइन्।
उनले भ्रमणका क्रममा साओ पाउलोसहित ब्राजिलका आठ शहरमा जापानी मूलका नागरिकहरूसँग भेटघाट र संवाद गर्ने कार्यक्रम रहेको बताइएको छ। मियागीको अपेक्षा छ कि राजकुमारीको उपस्थितिले न केवल इतिहासलाई उजागर गर्नेछ, तर जापान–ब्राजिल सम्बन्धलाई नयाँ पुस्तासम्म मजबुत बनाउनेछ।































