पोखरा, २१ जेठ। पाकिस्तानमा बालबालिकामाथिको दुव्र्यवहार दिनप्रतिदिन बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। सन् २०२४ को अवधिमा मात्रै त्यहाँ ३ हजार ३ सयभन्दा बढी बालदुव्र्यवहारका घटना दर्ता भएका छन्। बाल अधिकारका क्षेत्रमा सक्रिय ‘साहिल’ नामक संस्थाले सार्वजनिक गरेको रिपोर्ट अनुसार, पाकिस्तानमा दैनिक औसतमा नौ जना बालबालिका दुव्र्यवहारको सिकार बन्ने गरेका छन्।

प्रतिवेदनमा उल्लेख भएअनुसार यस्ता घटनामा यौन दुव्र्यवहार, घरेलु हिंसा, अपहरण, जबरजस्ती बालमजदुरी र बालविवाहजस्ता गम्भीर अपराध समावेश छन्। यस्ता घटनामा पीडित हुने बालबालिकाहरू मुख्यतः ६ देखि १५ वर्ष उमेर समूहका छन्। उनीहरू विद्यालय जाने उमेरका भए पनि दुव्र्यवहारका विभिन्न रूपको सामना गर्नुपर्ने अवस्था अत्यन्तै चिन्ताजनक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘युरोपियन टाइम्स’मा प्रकाशित समाचारका अनुसार, वास्तविक संख्या यसभन्दा पनि धेरै हुन सक्ने अनुमान गरिएको छ। लाज, सामाजिक कलंक, बदलाको डर र न्याय प्रणालीप्रतिको विश्वासको अभावले गर्दा अधिकांश घटना प्रहरी वा सरकारी निकायमा उजुरी नै नपुगी दबिइरहने गरेको जनाइएको छ।

अधिकारवादीहरूले यस्तो अवस्था बाल अधिकारको गम्भीर उल्लंघन भएको भन्दै तत्कालीन सुधारात्मक कदम चाल्न सरकारलाई आग्रह गरेका छन्। उनीहरूले पीडित बालबालिकाको सुरक्षा, न्यायमा सहज पहुँच र चेतनामूलक कार्यक्रम आवश्यक भएको बताए।

पाकिस्तानमा बढ्दो बालदुव्र्यवहारले सामाजिक संरचनामै प्रश्न उठाउँदै आएको छ। अझै पनि धेरै बालबालिका सुरक्षित बाल्यकालबाट वञ्चित भइरहेका छन्। यस्तो अवस्थाले सरकार, अभिभावक र समाजको सामूहिक जिम्मेवारी र संवेदनशीलता अपरिहार्य बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0