पोखरा, २१ जेठ। बौद्ध दर्शनमा आधारित साहित्यकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ को परिसंवाद कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले बुद्ध स्वयं बुद्धत्वको खोजीमा निस्किए जस्तै लेखक अधिकारी पनि बुद्धको गहिरो खोजीमा निस्किएको बताएका छन्।
कार्यक्रममा बोल्दै समालोचक राजकुमार बानियाँले २०८१ सालमा प्रकाशित ‘अर्हत्’ उपन्यासलाई अद्योपान्त पढ्नै पर्ने किताबको संज्ञा दिए। त्यस्तै, पत्रकार दीपक सापकोटाले बुद्धले आफ्नो जीवनमा भोगेका तनावहरूका बाबजुद उनले कसरी अर्हत् (निर्वाण) प्राप्त गरे भन्ने कुरा पुस्तकले स्पष्ट रूपमा देखाएको जिकिर गरे। उनले भने, “काँडाको बाटोमा फूल कसरी फुल्छ? थाहा पाउन यो पुस्तक पढ्नैपर्छ।” अन्य वक्ताहरूमध्ये लेखक भुवनहरि सिग्देलले बुद्ध बनेर र बुद्ध पात्र भएर लेख्दा भित्रै प्रवेश गर्नुपर्ने बताए। उनले थपे, “यो किताब बुद्धको आत्मकथा हो।”
करिब एक दर्जन वक्ताहरूले पुस्तकमाथि आफ्नो पाठकीय धारणा व्यक्त गरेका थिए। पुस्तक समीक्षक अनिता कोइरालाले पुस्तकले बुद्धलाई साधारण मान्छेको रूपमा प्रस्तुत गरेको र यसले जीवन जिउने कला सिकाउने बताएकी छिन्। ‘अर्हत्’ उपन्यास गत भदौमा शिखा बुक्सबाट प्रकाशनमा आएको हो। यसअघि अधिकारीका ‘निर्वेद’ उपन्यास र ‘ब्रह्मास्त्र’ कथासङ्ग्रह प्रकाशित छन्।































