पोखरा, २१ जेठ। साहित्यकार मुकुन्दराज दाहालद्वारा लिखित कविता सङ्ग्रह ‘दीपमालिका’ को लोकार्पण गरिएको छ। शिष्टाचार अभियान नेपालले आज आयोजना गरेको एक कार्यक्रममा साहित्यकार तथा पत्रकार प्रा. पुरुषोत्तम दाहाल, साहित्यकार प्रा. माधव भट्टराई र डा. शैलेन्दुप्रकाश नेपाललगायत साहित्यकारहरूले संयुक्त रूपमा सो पुस्तकको लोकार्पण गरेका हुन्।

सङ्ग्रहमा गद्यात्मक खण्डमा लेखिएका ४६ र पद्यात्मक खण्डमा लेखिएका ६० गरी कुल १०६ कविताहरू समावेश छन्। सङ्ग्रहमा समावेश अधिकांश कविता राष्ट्रवादी भावले ओतप्रोत भएको साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहालले बताए। उनले देश र देशवासीप्रतिको सद्भाव मुछिएका कविताले जन्मभूमि, जिल्ला र गाउँप्रतिको गहिरो प्रेम दर्शाएको उल्लेख गरे। कवितामा पाखापखेरा, गाउँबेँसीप्रतिको मोह, जनमानसप्रतिको बेथिति, नेताप्रतिको वितृष्णा, चाडपर्व, रीतिरिवाज, नेपाली जनमानसको आफ्नो संस्कार, र जताततै बढ्दै गएको अराजकतातिरको आक्रोश पनि सशक्त रूपमा समावेश गरिएको छ। लेखक दाहालले कवि/साहित्यकारप्रतिको सद्भाव, गरिबप्रति सहानुभूति, राष्ट्र-राष्ट्रियताप्रतिको झुकाव, देशप्रेमप्रतिको चिन्तन र जन्मभूमि आसपासका भिरपाखाको वर्णन कवितामा गरिएको जानकारी दिए।

सङ्ग्रहमाथि टिप्पणी गर्दै डा. अम्बिका अर्यालले ‘दीपमालिका’ ले मानव अधिकारको खोजी, बुद्धत्व हराउँदै गएकामा चिन्ता, र गणतन्त्र आए पनि सर्वसाधारणका छोराछोरीको अपहरण तथा विभत्स हत्या नरोकिएको यथार्थलाई जोड दिएको उल्लेख गरे। लेखक दाहालले देशमा समानता नभएको, बुढापाका आफ्ना सन्तानका पीरले तड्पिरहेका, पुराना सभ्यता र संस्कृति थला परेका लगायतका विषयहरूलाई कवितामार्फत उजागर गरिएको बताए। यस सङ्ग्रहले समाजका विभिन्न पक्ष, विशेषतः वर्तमान सामाजिक र राजनीतिक अवस्थाका विकृतिहरूमाथि गहन चिन्तन प्रस्तुत गरेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0