पोखरा, २१ जेठ। गुल्मी जिल्लामा गणित, अङ्ग्रेजी र विज्ञान विषयका शिक्षक पाउनै मुस्किल भएको छ। धुर्कोट गाउँपालिकाले ज्ञानोदय माध्यमिक विद्यालयमा गणित शिक्षकका लागि सङ्घीय अनुदानमा चौथो पटक विज्ञापन गर्दा पनि कोही शिक्षक नपाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीका अनुसार माध्यमिक तह (कक्षा ९ र १०) को गणित शिक्षकका लागि गरिएको चौथो पटकको विज्ञापनमा जेठ २० गतेसम्म पनि कसैको आवेदन परेको छैन। प्राथमिक तहको शिक्षकका लागि पनि दोस्रो पटक विज्ञापन गर्नुपरेको पन्थीले बताउनुभयो। सहरमा सबैको रुचि हुने र गाउँमा शिक्षक आउन नमान्ने भएका कारण यो समस्या थप जटिल बनेको उहाँको भनाइ छ।
यस समस्याको अनुभव गुल्मीका अन्य स्थानीय तहले पनि गरेका छन्। केही महिनाअघि मुसिकोट नगरपालिकाको मुसिकोट माध्यमिक विद्यालय र जनज्योती माध्यमिक विद्यालयका लागि माध्यमिक तहमा गणित शिक्षक पाउन छैटौँ पटक विज्ञापन गर्नुपरेको थियो। यस्तै, शिवशङ्कर माध्यमिक विद्यालयका लागि अङ्ग्रेजी शिक्षक र ददल्का माध्यमिक विद्यालयका लागि गणित शिक्षकका लागि पनि क्रमशः छैटौँ र तेस्रो पटक विज्ञापन गरेपछि मात्र शिक्षक पाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र सीतापुर माध्यमिक विद्यालयमा माध्यमिक विज्ञान राहतमा पनि मुस्किलले शिक्षक भेटिएको उहाँले बताउनुभयो।
नेपालीका अनुसार नेपालमा शिक्षण पेसामा भविष्य नदेख्नु, वैदेशिक यात्रामा जाने मोह बढ्नु, शिक्षण पेसामा सम्मान नहुनु र निजामती सेवासरह राज्यले हेर्ने दृष्टिकोण नहुनु पनि शिक्षक अभावका प्रमुख कारण हुन्। लाइसेन्स नभएकालाई शिक्षामा प्रवेशमै रोक लगाइनु र लाइसेन्स भएका व्यक्ति नपाइनुले राज्यको नीतिमै समस्या रहेको उहाँको भनाइ छ।
शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले अध्यापनमा रुचि नदेखाउनु र वैदेशिक रोजगारीमा सबैको मोह बढ्नुका कारण पनि शिक्षकको अभाव भएको स्वीकार गर्नुभयो। कतिपय शिक्षकहरूले बीचैमा जागिर छाड्ने र अवकाश लिने जस्ता कारणले पनि शिक्षक अभाव देखिएको उहाँले बताउनुभयो। यो समस्या गुल्मीको मात्रै नभई देशभर देखा पर्ने गरेको उहाँको भनाइ छ। गुल्मीमा सामुदायिक र संस्थागत गरी ५९० विद्यालय तथा ५६ हजार २०३ विद्यार्थी छन्। जिल्लामा बालशिक्षादेखि कक्षा १२ सम्मका विद्यालयमा राहत र दरबन्दी गरी कुल तीन हजार १५३ जनाको दरबन्दी रहेको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीले जनाएको छ।





























