काठमाडौँ, २४ जेठ ः सङ्घीय सांसद् भवन बानेशवरमा बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्तव्य राख्दै सांसद विश्वप्रकाश शर्मा। तस्बिरः किरणराज विष्ट÷रासस


पोखरा, २१ जेठ। एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट अस्पताल घोषित भएको छ। अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तर्गत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पतालले १०० पूर्णांकमा ९० अंक प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो स्थान हासिल गरेको हो। यो लगातार चौथो पटक हो, जब भक्तपुर अस्पतालले यो गौरवपूर्ण उपाधि प्राप्त गरेको छ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएकोमा खुशी व्यक्त गर्दै अस्पतालको गुणस्तरमा कुनै कमी आउन नदिन कर्मचारीले इमानदार भएर काम गर्नुपर्नेमा जोड दिए। उनले मन्त्रालयले अस्पतालमा न्युरो सेवा सञ्चालन गर्न एक करोड रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिँदै एक महिनाभित्र सो अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने र अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे।

बागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले एक सय २१ वर्षको इतिहास बोकेको देशकै दोस्रो अस्पताल पहिलो हुन सफल भएको उल्लेख गर्दै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्वको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताइन्। उनले भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नुपर्ने भन्दै मन्त्रालयमै बसेर दैनिक रूपमा प्रदेशका १३ अस्पतालमा कति बिरामी आए, कति भर्ना भए लगायतका विवरण सबै हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको जानकारी दिइन्।

संघीय सरकारले स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्यांकन टोलीका संयोजक एवं वीर अस्पताल नर्सिङ कलेजका प्रमुख उपप्राध्यापक रोशनी तुईतुईले देशभरका सेकेन्डरी ‘बी’ लेभलका अर्थात् देशभरका तीन सय शय्यामा सञ्चालित अस्पतालहरूको मूल्यांकन गर्दा भक्तपुर अस्पताल देशभरमा प्रथम भएको घोषणा गरिन्। उनले अब भक्तपुर अस्पताललाई प्रतिष्ठान बनाउनुपर्नेमा जोड दिइन्।

मूल्यांकन घोषणाअनुसार, लुम्बिनी प्रादेशिक अस्पतालले ८९ अंक प्राप्त गरी दोस्रो र भरतपुर अस्पतालले ८८ अंक प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन्। बागमती प्रदेशभित्रका १३ अस्पतालमध्ये धादिङ अस्पतालले ८२ अंक ल्याएर दोस्रो र त्रिशूली अस्पताल ८१ अंक ल्याएर तेस्रो भएका मूल्यांकन टोलीका सदस्य एवं वीर अस्पतालका डा. फणिन्द्रप्रसाद बरालले बताए। अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले अस्पतालले दिँदै आएको सेवा तथा सुविधाबारे जानकारी गराउँदै यस वर्ष बहिरंग, अन्तरंग, शल्यक्रिया, प्रसूति लगायतका सेवामा बिरामीको आगमन विगतका वर्षमा भन्दा बढेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0