पोखरा, २१ जेठ। छिमेकी मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल-भारत सीमावर्ती बजार वीरगञ्जमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ। भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुहरूमाथि स्वास्थ्य जाँचलाई थप प्रभावकारी बनाइएको छ।

पर्साको जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको यही जेठ १५ गते बसेको बैठकले कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सीमानाकामा स्वास्थ्य जाँचलाई कडाईका साथ लागू गर्ने निर्णय गरेको थियो। वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सोमबार वीरगञ्ज नाकामा स्थापना गरिएको सहायता कक्ष (हेल्थ डेस्क) को निरीक्षण गर्दै भारतमा बढ्दै गएको कोभिड सङ्क्रमणलाई यहाँ फैलन नदिन विशेष सतर्कता अपनाउनु जरुरी रहेको बताए। उनले “नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझै प्रभावकारी बनाउने प्रयास भइरहेको” समेत जानकारी दिए।

महानगरका अनुसार हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ। स्वास्थ्यकर्मी इब्राना खातुनले रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम जाँच अनिवार्य गरिएको बताइन्। उनका अनुसार हाल उक्त हेल्थ डेस्कमा सात जना स्वास्थ्यकर्मी खटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0