पोखरा, २१ जेठ। फ्रान्सको चर्चित फुटबल क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले पहिलो पटक युएफा च्याम्पियन्स लिगको उपाधि जितेको रात देशभरि उत्सवको नाममा हिंसा, लुटपाट र तोडफोड भएको छ। च्याम्पियन्स लिगको उपाधि जितेपछि फ्रान्सभर लाखौं प्रशंसक सडकमा निस्कँदा हिंसात्मक झडपका घटनाहरू व्यापक देखिएका छन्।

दक्षिण-पश्चिमी फ्रान्सको डाक्स सहरमा पीएसजीको जित मनाउँदै गरेका युवाहरूबीचको झडपमा एक १७ वर्षीय किशोरको छुरा प्रहारबाट ज्यान गएको छ। पेटमा छुरा लागेका उनलाई गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। घटनाबारे अनुसन्धान जारी रहेको जनाउँदै प्रहरीले सीसीटीभी फुटेज संकलन गरिरहेको छ।

यसैबीच, च्याम्पियन्स लिगको फाइनलसँगै देशभर फैलिएको हिंसात्मक गतिविधिका कारण ४२६ जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा २९४ जना पेरिसबाट मात्रै पक्राउ परेका हुन्। झडपमा २०५ जना घाइते भएका छन्, जसमा १३ जना सुरक्षाकर्मीसमेत छन्।

पेरिसमै च्याम्प्स एल्लेसेस् क्षेत्रमा लुटपाट नियन्त्रण गर्न प्रहरीले टियर ग्यास र लाठी चार्ज गरेको थियो। फुट लकरलगायतका केही पसलहरूमा व्यापक चोरी भएको छ। बास्तिल क्षेत्रमा एक २३ वर्षीया युवती स्तम्भबाट खसेर गम्भीर घाइते भएकी छन्।

पूर्वी सहर ग्रेनोब्लमा ट्राम लाइनमा गाडीको स्टन्टका कारण भएको दुर्घटनामा एक परिवारका चार सदस्य घाइते भएका छन्, तीन जना अझै आईसीयूमा छन्।

आईफेल टावर नजिकैसमेत भिडन्त देखिएको छ। यही टावर शनिबार राति पीएसजीको झन्डाको रङमा सजाइएको थियो। प्रत्यक्षदर्शीहरूले जीतको खुसीसँगै चोरी र हिंसाका दृश्यहरू देख्दा लाजलाग्दो अनुभूति भएको बताएका छन्।

पीएसजीका अध्यक्ष नासर अल-खेलाइफी र खेलाडी ओस्मान डेम्बेलेले शान्तिपूर्ण उत्सव मनाउन आह्वान गरेका छन् भने फ्रान्सका आन्तरिक मन्त्री ब्रुनो रिटायोले उपद्रवमा संलग्नहरूलाई ‘बर्बर’ भन्दै कडा कारबाहीको चेतावनी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0