पोखरा, २० जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सामाजिक सञ्जालमा ‘झोले’ अभियान सुरु गरेका छन्, जसले राजनीतिक वृत्तमा व्यापक प्रतिक्रिया ल्याएको छ। प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको ‘झोले’ अभियानले स्थान पाएको हो, जुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१९ को ‘मै भी चौकीदार’ अभियानसँग मिल्दोजुल्दो देखिन्छ।
सन् २०१९ मा राहुल गान्धीले दिएको विवादास्पद अभिव्यक्तिलाई नरेन्द्र मोदीले राजनीतिक अवसरमा रूपान्तरण गरी ‘मै भी चौकीदार’ अभियान चलाएका थिए। उनले ट्वीटर ह्यान्डलमा समेत ‘चौकीदार’ थपेपछि भाजपाका नेताहरूले समेत त्यसलाई पछ्याएका थिए। सोही शैलीमा प्रधानमन्त्री ओलीले आफूलाई ‘झोले’ भनेर अभियान थाल्दा पनि नेपाली सामाजिक सञ्जालमा पक्ष–विपक्षको बहस सुरु भएको छ।
ओलीले गायक प्रकाश सपूतले दिएको एक प्रशंसासँगै सामाजिक सञ्जालमा आएको नकारात्मक प्रतिक्रियालाई सम्बोधन गर्न यो अभियान थालेका हुन्। ओलीले आफू जनताको झोला बोक्ने व्यक्ति भएको, परिवर्तनको झण्डा उठाउने ‘झोले’ भएको गर्वका साथ बताएका छन्। उनले आफूलाई सामन्ती परिवारको दास बन्नुभन्दा परिवर्तन र विकासको झोला बोक्नु श्रेयस्कर भएको स्पष्ट पारेका छन्।
यो अभियान योजनाबद्ध नभई प्रधानमन्त्रीको भाषणको अंशलाई पोष्टरमा परिणत गरेर सार्वजनिक गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सामाजिक सञ्जालमा आलोचना खेपिरहेका एमाले नेताहरूले ओलीको समर्थनमा ‘झोले’ पोष्टर शेयर गर्न थालेपछि अभियानले तिव्रता पाएको हो। उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालजस्ता नेताहरूको सक्रियताले यस अभियानमा थप ऊर्जा दिएको देखिन्छ।
एमालेले यसअघि पनि सामाजिक सञ्जालमा प्रभाव जमाउन ‘साइबर सेना’ गठन गरेको थियो, तर ती प्रयासहरू स्थायीत्वमा आउन सकेका थिएनन्। अहिलेको अभियानले एमाले समर्थकहरूलाई आक्रामक बनाउने प्रयास गरे तापनि, विपक्षी दल तथा सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया पाउन सकेको छैन।
प्रधानमन्त्री ओलीले ‘झोले’ शब्दलाई नकारात्मकताबाट सकारात्मकतामा रुपान्तरण गर्न खोजेका छन्। तर यो प्रयास समाजमा राजनीतिक चेतना विस्तार गर्छ कि जनआक्रोश थप बढाउँछ भन्ने प्रश्न भने खुलै छ।





























