पोखरा, २० जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञअन्तर्गत सम्पन्न नेपालकै सर्वाधिक राशिको राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण गरिएको छ। प्रतियोगितामा देशभरका ८० सहभागीहरूमध्ये तनहुँस्थित परमानन्द संस्कृत गुरुकुल देवघाटका विशाल भण्डारी पहिलो भएका छन्। उनले २ सय २६ अंकसहित नगद ५१ हजार १ सय ५१ रुपैयाँ र सम्मानपत्र प्राप्त गरे।

त्यसैगरी पर्वतको मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल २ सय २५ अंकसहित दोस्रो भए भने पोखराको सैनिक आवासीय विद्यालयका समीर कार्कीले २ सय १२ अंकसहित तेस्रो स्थान हासिल गरे। उनीहरूले क्रमशः ४१ हजार १ सय ४१ र ३१ हजार १ सय ३१ रुपैयाँसहित सम्मानपत्र प्राप्त गरेका छन्। यस्तै सान्त्वना पुरस्कार स्याङ्जा, लमजुङ र पर्वतका तीन छात्राले प्राप्त गरे। प्रतियोगितामा उत्प्रेरणा पुरस्कारको रूपमा बाँके, जुम्ला, नवलपरासी र स्याङ्जाका छात्राहरूलाई जनही १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

वक्तृत्वकला प्रतियोगिता जेठ ११ देखि १४ गतेसम्म सम्पन्न भएको हो। ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ शीर्षकमा प्रतिस्पर्धीहरूले आफ्नो तर्क प्रस्तुत गरेका थिए। संस्कृतिविद् डा. तुलसी प्रभास खनाल प्रतियोगिताका संयोजक तथा निर्णायक थिए भने महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यौपाने निर्णायक मण्डलमा सहभागी थिए।

महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता पनि सम्पन्न भइसकेको छ जसको पुरस्कार वितरण जेठ २० गते गरिनेछ। कोटिहोममा विविध धार्मिक अनुष्ठानहरू जस्तै कथा वाचन, रक्तदान, तुला दान, ग्रहशान्ति, कुम्भ विवाह, ऋणमोचन, श्रीसूक्त पाठ लगायत कार्यक्रम जारी छन्। भागवत मञ्जरी राधिका दासीले निरन्तर रूपमा कथा वाचन गरिरहेकी छन् भने विभिन्न साधु–सन्तहरूको आगमनले कोटिहोमलाई थप भव्य बनाएको छ। महायज्ञको समापन जेठ २६ गते हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0