पोखरा, १६ जेठ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नक्कली रूपमा जारी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ। रुपन्देही र दाङका यातायात कार्यालयमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटरहरू र एक सेवाग्राहीसहित उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।
मुद्दा दायर गरिएकामा यातायात व्यवस्था कार्यालय रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय, दाङ्ग तुलसीपुर कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर र सेवाग्राही सभ्यता के.सी. रहेका छन्।
सभ्यता के.सी. ले सवारी चालक अनुमतिपत्र पाउन लिखित वा ट्रायल परीक्षामा सहभागी नै नभएकी हुँदा प्रणालीमा अर्कै व्यक्तिको विवरण राखी नक्कली लाइसेन्स जारी गरिएको प्रमाणित भएको अख्तियारले जनाएको छ। आयोगका अनुसार प्रमाणपत्र प्रणालीमा गैरकानुनी रूपमा परिवर्तन गरी अर्कै व्यक्तिको विवरण सभ्यता के.सी. को नाममा प्रविष्ट गरी सक्कल लाइसेन्सको रुपमा अनुमतिपत्र प्रदान गरिएको हो।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कारबाही र सोही ऐनको दफा २२ बमोजिम सजायको मागसहित मुद्दा दायर गरिएको हो। सार्वजनिक प्रणालीमा प्राविधिक पहुँचको दुरुपयोग गर्दै कानुनविपरीत लाभ दिलाउने कार्यले राज्य प्रणालीप्रतिको जनविश्वासमा गम्भीर क्षति पुगेको भन्दै अख्तियारले कडा कानुनी कारबाहीको माग गरेको छ।





























