पोखरा, १६ जेठ। नेपाल औषधी व्यवस्थापन विभागमा सूचीकृत नभएको र बिल बीजक समेत नराखी अवैध रूपमा औषधी ओसारपसार गरिरहेको अवस्थामा एक जना व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति पर्सा जिल्लाको धोवनी गाउँपालिका–५ जगनाथपुर निवासी ३२ वर्षीय मुनिस दास हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जेठ १३ गते मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ चेकपोस्टमा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको टाटा सुमो (मधेश प्रदेश ०३-००१ ज ०६३८) लाई रोकी चेकजाँच गर्दा छतमा लुकाइएको अवस्थामा विभिन्न प्रकारका औषधी फेला परेका थिए। ती औषधी न त नेपाल औषधी व्यवस्था विभागमा सूचीकृत थिए, न त उनीसँग कुनै किसिमको बिल बीजक थियो।
प्रहरी उपरिक्षक अपील राज बोहराका अनुसार ट्याब्लेट र किटहरू जस्ता संवेदनशील औषधी दासले बिना कागजपत्र ओसारपसार गरिरहेका थिए। औषधीको विवरण र संख्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अवैध औषधीको ओसारपसारले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै प्रहरीले यस्ता कार्यमा संलग्नलाई कडाइका साथ नियन्त्रणमा लिइ अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ। पक्राउ परेका मुनिस दासलाई आवश्यक कारबाहीका लागि औषधी व्यवस्था विभाग, काठमाडौँमा पठाइएको छ।
































