पोखरा, १६ जेठ। सरकारले सोमबार साँझ विभिन्न मन्त्रालय र निकायमा कार्यरत आठ जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ भने दुई सचिवको बढुवा पनि गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ। संस्कृति मन्त्रालयका सचिव विनोद प्रकाश सिंह अनिवार्य अवकाशमा गएपछि सो पद रिक्त थियो। राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ भने सो मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएका छन्।
शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले राष्ट्रपति कार्यालयमा पठाइएका छन् भने प्रधानमन्त्री कार्यालयका सचिव चूडामणि पौडेल शिक्षा मन्त्रालयमा सरुवा भएका छन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिव बनाइएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको छ, जहाँ सचिव पद रिक्त थियो।
सरकारले रिक्त प्रशासनतर्फको सचिव पदमा भूपाल बराललाई र प्राविधिकतर्फ सचिव पदमा दीनानाथ शर्मालाई बढुवा गरेको छ। बराललाई बागमती प्रदेशको प्रमुख सचिव बनाइएको छ भने गण्डकी प्रदेशको प्रमुख सचिवमा शोभाकान्त पौडेल पठाइएका छन्। बागमती प्रदेशमा बराल पठाइएपछि त्यहाँ रहेका प्रमुख सचिव महादेव पन्थलाई प्रधानमन्त्री कार्यालयमा तानिएको र उनलाई छिट्टै नयाँ जिम्मेवारी दिइने स्रोतको भनाइ छ।































