पोखरा २३, फागुन । नेपालको संसदीय इतिहासमा सुरक्षा निकायको जागिर छाडेर राजनीतिमा होमिएका व्यक्तिहरूको उपस्थिति यसपटकको निर्वाचनमा निकै प्रभावशाली देखिएको छ । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका पूर्वसुरक्षाकर्मीहरूले स्थापित र ‘हेभिवेट’ भनिएका नेताहरूलाई पराजित गर्दै संसद्को यात्रा निश्चित गरेका छन् । यसरी पहिलो प्रयासमै सफल हुनेमा काठमाडौं महानगरपालिकाका पूर्वमहानगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डे र प्रहरीका पूर्वडीएसपी गोविन्द पन्थी रहेका छन् । गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पूर्वडीएसपी पन्थीले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री गोकर्ण विष्टलाई ४९६ मतान्तरले पराजित गरेर सबैलाई अचम्ममा पारेका छन् । पन्थीले १६ हजार ८७८ मत प्राप्त गर्दा विष्टले १६ हजार ३८२ मतमा चित्त बुझाउनुपर्यो । ३० वर्ष प्रहरी सेवा गरेर भर्खरै अवकाश पाएका पन्थीले कुनै पनि राजनीतिक दलको अनुभव नलिई सिधै संसद्को यात्रा तय गर्नुले मतदातामा परम्परागत दलप्रतिको वितृष्णा र नयाँ अनुहारप्रतिको आकर्षणलाई प्रस्ट पारेको छ ।
यसैगरी, काठमाडौं महानगर प्रहरीको नेतृत्व सम्हाल्दा चर्चा र विवाद दुवैमा रहेका राजुनाथ पाण्डेले काठमाडौं क्षेत्र नम्बर ३ बाट सानदार जित दर्ता गरेका छन् । उनले चर्चित उम्मेदवार कुलमान घिसिङलाई ७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । पाण्डेले १८ हजार ७५७ मत ल्याउँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले ११ हजार १७१ मत प्राप्त गरे । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका अत्यन्तै निकट मानिने पाण्डे नगर प्रहरी प्रमुख छँदा फुटपाथ व्यवस्थापन र अनधिकृत संरचना हटाउने अभियानका कारण चर्चामा थिए । माघ महिनामा मात्रै राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका पाण्डेले पहिलो प्रयासमै संसद्को सिट सुरक्षित गरेर आफ्नो प्रशासनिक क्षमतालाई राजनीतिक अनुमोदन दिलाएका छन् । नुवाकोटमा जन्मिएका र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका पाण्डेले महानगर प्रहरीमा रहँदाको अनुभवलाई अब कानुन निर्माणको तहमा प्रयोग गर्ने अवसर पाएका छन् ।
सुरक्षा निकायबाट आएका अन्य उम्मेदवारहरू पनि जितको नजिक पुगेका छन् । झापा क्षेत्र नम्बर ४ बाट रास्वपाका उम्मेदवार शम्भु सुस्केरा (शम्भुप्रसाद ढकाल) फराकिलो मतान्तरले अग्रस्थानमा छन् । उनले १८ हजार ८११ मत प्राप्त गर्दा एमालेका लालप्रसाद साँवा लिम्बु निकै पछि परेका छन् । २२ वर्ष प्रहरी सेवामा बिताएका सुस्केरा एक स्थापित लेखक र रेडियो प्रस्तोता समेत हुन् । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट तेस्रो भएका उनी यसपटक दोस्रो प्रयासमा संसद् छिर्ने संघारमा छन् । त्यस्तै, कपिलवस्तु क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार पूर्वएसएसपी थापा २१ हजार १४६ मतका साथ अग्रस्थानमा रहँदै जित सुनिश्चित गर्ने दिशामा छन् । उनले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पछि पारेका छन् । यद्यपि, सबै पूर्वसुरक्षाकर्मीहरूको अवस्था भने सुखद छैन । राप्रपाबाट उम्मेदवार बनेका पूर्वआईजीपी ध्रुवबहादुर प्रधान र राष्ट्रिय परिवर्तन पार्टीबाट उठेका पूर्वआईजीपी सर्वेन्द्र खनाल भने निकै कम मतका साथ हारको नजिक पुगेका छन् । यसले के देखाउँछ भने पूर्वसुरक्षाकर्मी हुनु मात्र पर्याप्त नभई, उनीहरू कुन पार्टीबाट र कस्तो एजेन्डा लिएर चुनावी मैदानमा छन् भन्ने कुराले जनताको मतलाई निर्णायक रूपमा प्रभावित पारेको छ ।































